काठमाडौं, बैशाख १ । विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणका कारण देशभरको अन्य आर्थिक क्षेत्र प्रभावित बने पनि नेपालको शेयरबजारले भने कोभिडकै बीच ऐतिहासिक रेकर्ड बनाएको छ । कोरोना त्रास हालसम्म पनि जारी रहँदा १ वर्षमा नेपालको शेयरबजार २ हजार ७०० विन्दु माथि पुगेको छ । चैत ३१ गतेसम्मको अवस्थामा नेप्से परिसूचक २ हजार ७१४ दशमलव ७९ विन्दुमा पुगेको हो ।
शेयरबजारले गति लिनुअघि निरन्तर ३ वर्षभन्दा बढी समय बजार ओरालो लागेको थियो । २०७५ फागुन १९ गतेदेखि बजार बढ्न थालेको देखिन्छ । उक्त दिन बजार १ हजार १०० दशमलव ५८ विन्दुमा थियो । पछिल्लो १ वर्षको तथ्यांक हेर्ने हो भने नेप्से परिसूचक १ हजार ४६३ दशमलव ३४ अंक माथि पुगेको छ । गतवर्ष चैत ९ गते नेप्से परिसूचक १ हजार २५१ दशमलव ४५ विन्दुमा थियो ।
बन्दाबन्दीका बीच वैशाख ३० र ३१ गते खुलाइएको बजार दुवै दिन नकारात्मक सर्किटको प्रभावमा परेपछि नियामक निकायले पुनः बन्द गरेको थियो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ९८ दिन बजार बन्द गर्नुपरे पनि अनलाइन कारोबार प्रणाली अनिवार्य गरेसँगै बजारले गति लिएको हो ।कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गतवर्ष चैत ११ गतेदेखि देशव्यापी रूपमा लागू गरिएको बन्दाबन्दी हुनुपूर्व चैत १० गतेदेखि नै शेयरबजार बन्द भएको थियो ।
नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले २०७५ कात्तिक २० गतेदेखि सञ्चालनमा ल्याएको अनलाइन कारोबार प्रणाली पूर्णरूपमा प्रयोग नहुँदा गतवर्ष ९८ दिन बजार नै बन्द गर्नुपरेको हो । असार १ गतेदेखि देशमा जारी बन्दाबन्दीको अवस्था खुकुलो भए पनि धितोपत्र दोस्रो बजार भने १५ दिनपछि मात्र खुलेको थियो । प्राथमिक बजार भने असार ७ गतेदेखि प्रुडेन्सियल इन्स्योरेन्सले हकप्रद शेयर सार्वजनिक निष्कासन गरेसँगै सुचारु भएको थियो ।
बजार सञ्चालक नेप्सेले ९८ दिनसम्म बजार बन्द गरी पूर्ण अनलाइन कारोबार प्रणालीका लागि थप गर्नुपर्ने आवश्यक सम्पूर्ण व्यवस्था गरेको थियो । देशभरका नागरिक घरभित्रै बसेर शेयर कारोबार गर्न सकिने वातावरण पनि बन्दाबन्दीकै अवधिमा बजारसम्बद्ध निकायहरूले तयार गरेका थिए ।
पूर्ण अनलाइन कारोबार प्रणालीकै कारण बन्दाबन्दीका बीच पनि नेपालको शेयरबजारले ऐतिहासिक विन्दुसँगै कारोबार रकममा पनि ऐतिहासिक रेकर्ड कायम गरेको छ । यो १ वर्षमा नेप्सेमा एकै दिन रू। १० अर्ब ६१ करोड ९१ लाखभन्दा बढीको शेयर कारोबार भएको थियो । नेप्सेमा कारोबार रकमको ऐतिहासिक रेकर्ड २०७७ साल माघ २६ गतेको कारोबार दिनले रचेको हो ।
गतवर्षको चैत ९ गतेसम्म नेपालको शेयर बजारको कुल पूँजीकरण रू। ५ खर्ब ८२ अर्ब ४ करोड ८३ लाख ८२ हजार थियो । १ वर्षको अवधिमा यो रकम रू। ३१ खर्ब ७६ अर्ब ६४ करोड ९१ लाख ८९ हजारले बढेको छ । चैत ३१ गतेसम्म नेपालको शेयर बजारको कुल पूँजीकरण रू। ३७ खर्ब ५८ अर्ब ९७ करोड ५० लाख ७१ हजार कायम भएको हो । यी आधार हेर्दा साँच्चै नेपालको शेयर बजारले १ वर्षमा काचुली फेरेको देखिन्छ ।
नेप्सेका अनुसार चैत ३० गतेसम्म दोस्रो बजारमा कारोबारका लागि ६ लाख ९४ हजारभन्दा बढी आबद्ध भएका छन् । यीमध्ये ५ लाख ७६ हजारभन्दा बढी अनलाइन कारोबार प्रणालीसँग जोडिएका छन् । एक वर्षअघि अनलाइन कारोबार प्रणालीमा आबद्ध हुनेको संख्या १ लाखभन्दा कम थियो । आजको आर्थिक अभियान दैनिकमा खवर छ ।