Logo

उपत्यकाको सभ्यताको स्रोत वाग्द्वारमा स्नान गर्नेको भीड



काठमाडौं, १ बैशाख । नयाँ वर्षको अरुणोदयसँगै मानिसको भीड शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्राकृतिक मनमोहकतातर्फ अघि बढिरहेको छ । यही निकुञ्जको बीचमा रहेको राजधानीको सभ्यताको स्रोत वाग्मतीको उद्गमस्थल वाग्द्वारमा प्रत्येक वर्ष वैशाख १ गतेका दिन स्नान मेला लाग्छ । मेला भर्न आज बिहानैदेखि भक्तजनको भीड निकुञ्जतर्फ लागेको हो । कति भक्तजन भने चैत मसान्तमै यहाँ रात बस्ने गरी पुगिसकेका छन् ।

राजधानीको कोलाहलबाट नजिकैको शान्त एवं रमणीयस्थलमा नयाँ वर्ष मनाउन मानिसको भीड लागेको छ । तीन वर्षअघि वाग्द्वार एवं यसको प्रवेशमार्ग सुन्दरीजलको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले वाग्द्वारको प्रचारप्रसार गर्न गोकर्णेश्वर नगरपालिकोले महोत्सवको आयोजना गरेको थियो । गत वर्षदेखि भने कोरोना महामारीका कारण स्थगन गरिए पनि कोरोना शान्त भएपछि पर्यटन प्रवद्र्धनका लागि निरन्तरता दिइने नगरपालिकाले जनाएको छ ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र काठमाडौँ र नुवाकोट जिल्ला एवं गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सीमामा रहेको वाग्द्वार नव वर्षका दिन स्नानका लागि पवित्र तीर्थस्थल मानिन्छ । आजको दिनमा यहाँ आई स्नान गरेमा पाप पखालिई अक्षय पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गरेको वैशाख सङ्क्रान्तिका दिन वाग्मतीमा स्नान गरेमा मनकामना सिद्ध हुने धार्मिक विश्वाससमेत छ ।

वैशाख महिना र वाग्मतीको सम्बन्ध रहेकाले प्राचीनकालदेखि नै चोभारदेखि वाग्द्वारसम्म वाग्मती तीर्थयात्रा गर्ने विधान छ । विसं २०३० देखि लोप भएको यो जात्रालाई पशुपति क्षेत्र विकास कोषले २०७५ देखि निरन्तरता दिएको छ । यस वर्षको तयारी पनि शुरु गरिएको कोषका सदस्यसचिव डा प्रदीप ढकालले बताए ।

वाग्द्वारको उत्पत्तिका विषयमा विभिन्न किंवदन्ती प्रसिद्ध छन् । सृष्टिको शुरुमा ब्रह्माजी मृगेन्द्र शिखरको मध्यभागमा तपस्या गरेर बस्दा पानीको अभाव भयो । ब्रह्माजीले शिवजीको ध्यान गरी शिवजीको वाग् अर्थात् बोलीबाट प्रकट भएकाले यस नदीको नाम वाग्मती रहेको नेपाल माहात्म्यको हिमवत्खण्डलगायतका धार्मिक ग्रन्थमा व्याख्या गरिएको वेदमा विद्यावारिधि गर्नुभएका प्रा डा ऋषिराम पोखरेल बताउछन् ।

“ब्रह्माजीले शिवजीको तपस्या गर्दा सबै देवता आई देवसभा नै यहीँ भएको वर्णन धार्मिक ग्रन्थमा पाइन्छ, यही सभाका समयमा शिवजीको बोलीबाट वाग्मती प्रकट भएकाले यस नदीलाई ब्राह्मी, सरस्वती, भारती, वाग्वती र वाग्मती आदि नामले पुकारिन्छ”, उनले भने । वाग्मती प्रकट भइसकेपछि शिवजीले यस नदीमा स्नान गर्न हिँडेमा मात्र पनि अश्वमेध यज्ञ गरे बराबरको फल प्राप्त हुनेछ, भुक्ति र मुक्ति प्राप्त हुनेछ भनी वरदान दिएकाले अहिलेसम्म पनि स्नान मेला लागेको धार्मिक विश्वास छ ।

वाग्मती नदी प्रकट भएको मृगेन्द्र शिखरको जल खाएमा भक्भके बोली भएकाको बोलीमा शुद्धता आउने जनविश्वास छ । यही विश्वासका कारण पनि वैशाख १ गते हजारौँ मानिस स्नान र जलसेवनका लागि वाग्द्वारमा आउने गर्छन् । शिवजीको बोलीबाट वाग्मती प्रकट भएर अरु नदी मिसिने प्रत्येक स्थानमा तीर्थ बन्नेछ र यहाँ स्नान एवं दान गरेमा पुण्य प्राप्त हुनेछ भनी भगवान् विष्णुले वरदान दिएकाले सूर्यग्रहण, चन्द्रग्रहण र औँसी आदि पर्वमा वाग्मतीमा स्नान गरी दान दिने परम्परा सनातनदेखि चलिआएको संस्कृति विषयमा विद्यावारिधि गर्नुभएका पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव डा गोविन्द टण्डन बताउनुहुन्छ । वाग्मती नदी भारतमा रहेको जमुना नदीसँग नमिलुञ्जेल अविच्छिन्नरूपमा वाग्मतीकै नामले चिनिने र यसबीचमा एक हजार आठ तीर्थस्थल बनेका छन् ।रासस



प्रतिक्रिया दिनुहोस्