Logo

आज नयाँ वर्ष २०७८ को पहिलो दिन, पशुपतिनाथमा पाँच लाख दर्शनार्थी, १९७ गरे विशेष पूजा (फोटोफिचर)



काठमाडौं, १ बैशाख । पशुपतिनाथ मन्दिरलगायत देशभरका मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको थियो । भीडभाड भई रोग सर्न सक्ने भएकाले सजगता अपनाउँदै धेरै मन्दिरमा दर्शन गर्न भक्तजन लाममा बसेका थिए । पशुपतिनाथ मन्दिरमा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर भक्तजनलाई दर्शन गराइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए।

बिहानैदेखि पशुपति क्षेत्रमा राष्ट्रदेवको दर्शन गरेर नयाँ वर्ष मनाउन चाहने भक्तजनको भीड लागेको थियो । बेलुकी ५ बजेसम्म करिब पाँच लाख भक्तजनले पशुपतिमा आई दर्शन गरेको उहाँले सुनाउनुभयो । बेलुकीसम्म दर्शन गर्न चाहने भक्तजनका लागि व्यवस्था गरिएको कोषले जनाएको छ । पशुपतिनाथमा आज नयाँ वर्षका अवसरमा १९७ जनाले रसिद काटेर विशेष पूजा गरेका छन् ।

दुई जना रसिद काटेर पनि पूजा गर्न नआएको कोषबाट पशुपतिनाथ मन्दिरभित्र खटिनुभएका कर्मचारी बरुण खतिवडाले जानकारी दिए । एक जनाले रु ५६ हजार, चार जनाले रु ११ हजार, अन्य भक्तजनले रु पाँच हजार १००, रु दुई हजार १०० को रसिद काटेर पूजा गरेको कोषले जनाएको छ । RSS

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्