Logo

आरम्भ चौतारीले ८.८५ प्रतिशत लाभांश बाँड्ने



काभ्रे, बेशाख २ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आठ दशमलव ८५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको पाँचौँ वार्षिक साधारणसभाले गत आव २०७६/०७७ सम्मको मुनाफाबाट प्रस्ताव गरिएको आठ दशमलव ८५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको कम्पनीको हाल चुक्तापूँजी रु २६ करोड ३४ लाख ४८ हजार रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले जानकारी दिए। साधारणसभाले बनेपास्थित बिपिडब्लु लघुवित्त र बुुटवलस्थित देउराली लघुवित्त वित्तीय संस्थालाई शेयर आदानप्रदान अनुुपात १००ः९५ः९५ हुने गरी प्राप्ति गर्ने प्रस्ताव पनि पारित गरेको छ । प्राप्तिपश्चात उक्त कम्पनीको शेयर स्वामित्व अनुपात ६३ दशमलव ६५ प्रतिशत (संस्थापक) र ३६ दशमलव ३५ प्रतिशत (सर्वसाधारण) हुने भएको छ ।

साथै आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा शेयर स्वामित्व अनुपात ६८ दशमलव ३० प्रतिशत (संस्थापक) र ३१ दशमलव ३० प्रतिशत (सर्वसाधारण) रहने प्रस्तावसमेत पारित भएको घिमिरेले जानकारी दिए।

उहाँका अनुसार भविष्यमा थप कुनै लघुवित्त संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति÷समाहित गर्ने विषयमा सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि साधारणसभाले गरेको छ । साधारणसभाले संस्थापक अध्यक्ष जगतबहादुर पोखरेलसहित छ जनालाई नयाँ सञ्चालक समितिको सदस्यमा निर्विरोध निर्वाचित गरेको छ ।

संस्थापक समूह क बाट प्रतिनिधित्व हुने सञ्चालक चार जना र सर्वसाधारण समूह ख बाट प्रतिनिधित्व हुने गरी सञ्चालक दुई जनाको पदावधि समाप्त भएको भन्दै निर्वाचन अधिकृत भक्तिराम घिमिरेले निर्विरोध निर्वाचित भएको घोषण गरेका थिए।

त्यसअनुसार संस्थापक समूह क बाट अध्यक्ष पोखरेल, दीपक तिवारी, पुष्पराज ढकाल र सन्तोष पोखरेल सञ्चालक समितिमा निर्वाचित हुनुभएको हो भने सर्वसाधारण समूह ख बाट केशवराज पन्थी र विमल आचार्य चयन भएका हुन् । सञ्चालकको पहिलो बैठकले संस्थाका संस्थापक अध्यक्ष पोखरेललाई नै चार वर्षका लागि फेरि अध्यक्षमा चयन गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्