डोटी, २ बैशाख । सामुदायिक वनमा लागेको डडेलो पसलमा पस्दा आगलागीमा परेर घरवारविहीन भएका पीडितको पालमुनी बास भएको छ । सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–२ भट्टी बजारमै पालको टहरो बनाइ रात बिताउन बाध्य छन्, उनीहरु ।
सामदायिक वनमा लागेको आगो एकाएक जोरायल गाउँपालिका–२ भट्टी बजारमा मङ्गलबार राति आउँदा त्यहाँका तीन पसल जलेर नष्ट भएका थिए । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायक उपरीक्षक ईन्द्रबहादुर मल्लका अनुसार आगलागीबाट स्थानीय होटल सञ्चालक नवलसिंह परियारको एक भान्सा, एक होटेल तथा उहाँकी छोरी दुर्गा दमाइँको एक पसल जलेर नष्ट भएको छ ।
नेपाल रेडक्रस सोसाइटी बुडर शाखाले उपलब्ध गराएको पालको छानो बनाएर उनीहरु रात बिताउन बाध्य भएका जोरायल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक प्रमिला जोशीले बताए । उनले भने, “आगलागी पीडित तीन दिनदेखि सडकमै पाल टाँगेर बसेका छन्, उनीहरुलाई खान, बस्न, सुत्नमा समस्या छ, राहतका लागि पहल हुनसकेको छैन् ।” आगलागीका कारण कम्तीमा पनि ३० लाख बराबरको पक्की घरसहित अन्य सम्पत्ती क्षति भएको बताइएको छ ।
यहाँका सामुदायिक वनमा लागेको आगो एकाएक भीमदत्त राजमार्ग नजिकै रहेको भट्टी बजारमा आउँदा आगलागी भएको हो । आगलागीका कारण उनीहरुका होटेल तथा पसलमा भएका सम्पूर्ण सामान जलेर पूर्णरुपमा नष्ट भएका छन् । पछिल्लो एक महिना अघिदेखि यहाँका सामुदायिक वनमा लागेको आगो अहिलेसम्म पनि नियन्त्रणमा आउन नसक्दा गाउँघरमा आगलागी हुन थालेको छ । आगलागीबाट खाद्यान्नसहित लुत्ताकपडा जलेर नष्ट भएपछि स्थानीयवासी र छिमेकीहरुले पीडितहरुलाई अहिले राहतस्वरुप खाद्यान्न तथा लत्ताकपडा दिन थालेको भए पनि सरकारी निकयबाट राहतका लागि कुनै पनि पहल नभएको स्थानीयवासी तथा रेडियो घण्टेश्वर एफएमका स्टेशन मेनेजर शिव ओलीले बताए । रासस