Logo

चितवनबाट विस्थापित हुँदै निजी हात्ती



चितवन, २ बैशाख । जङ्गल सफारीका लागि परिचित चितवनमा पर्यटक घुमाउनका लागि राखिएका निजी हात्ती विस्थापित हुन थालेका छन् । कोरोना सङ्क्रमणका कारण काम नपाएपछि हात्ती धनीले भाडाका हात्ती फिर्ता र बिक्रीसमेत गर्न थालेको जनाइएको छ ।

हात्ती सञ्चालन गर्दै आएको युनाइटेड हात्ती सञ्चालन सहकारीमा दुई वर्ष अघिसम्म ६७ हात्ती रहेकामा हाल यो सङ्ख्या घटेर ३५ मा झरेको छ । संस्थाका पूर्वअध्यक्षसमेत रहेका क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराई हात्ती पाल्न मुस्किल भएको बताउछन् । सरकारी तवरबाट कुनै किसिमको सहयोग नभएपछि हात्ती विस्थापित हुन थालेको उनको भनाइ छ ।

दैनिक दुई क्विन्टलभन्दा बढी खाद्यान्न आवश्यक पर्ने हात्ती पाल्न मासिक रु एक लाखभन्दा बढी खर्च हुने व्यवसायी बताउँछन् । भारतबाट भाडामा ल्याएकामध्ये तीनवटा हात्ती मात्र यहाँ बाँकी रहेको बताइएको छ । व्यवसायीले यकिन तथ्याङ्क नदिए पनि सौराहामा रहेका हात्ती एउटाको रु ८० लाखदेखि एक करोडसम्ममा बिक्री हुने गरेको छ । ती हात्ती भारतको गुजरातमा लैजाने गरेको बताइएको छ । सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको व्यापारसम्बन्धी महासन्धि ९साइटिस०ले हात्तीलाई अनुसूची १ मा राखेको छ । व्यापारका कारणले अझै खतरामा पर्ने हुँदा अनुसूची १ मा परेका जीव जनावरलाई व्यापार वा ओसारपसार गर्न पाइँदैन । त्यसैकारण यहाँका व्यवसायीले हात्ती बिक्री गरेको स्वीकार गर्दैनन् ।

युनाइटेड हात्ती सञ्चालन सहकारीका अध्यक्ष ऋषि तिवारीका अनुसार पर्यटक नआउँदा हात्ती पाल्न कठिन भएको हो । पाल्नै नसकेर हात्ती जिल्लाबाट विस्थापित भएको उहाँको भनाइ छ । भारत सरकारले निजी क्षेत्रलाई हात्ती पाल्न अनुमति दिएर सहयोग गरेको भए पनि नेपालमा सहयोग नपाउँदा हात्ती विस्थापित भएको उनले बताए। उनले भने, “बिमा र चरिचरनमा सरकारले सहयोग गरे हात्ती विस्थापित हुँदैन ।”

कुहिएर खेर जाने घाँससमेत सरकारले नदिँदा हात्ती पाल्न मुस्किल भएको तिवारीले गुनासो गरे । पर्यटन प्रवद्र्धनका हरेक गतिविधिमा प्रयोग हुने हात्ती पर्यटकलाई चढाएर ठूलो मात्रामा राजस्वसमेत सङ्कलन भएको व्यवसायी बताउँछन् । तिवारीका अनुसार हात्ती पाल्न मुस्किल भएपछि विस्थापित हुनबाट रोक्न सहयोग पु¥याउन वनमन्त्री, सचिव, निकुञ्ज विभागका महानिर्देशकलगायतका उच्च अधिकारीसँग हारगुहार गरिएको भए पनि सुनुवाइ भएको छैन । रासस



प्रतिक्रिया दिनुहोस्