काठमाडौँ, २ वैशाख । नेपाल आयल निगम अहिले आफूलाई पूर्णतः डिजिटाइज गर्ने अभियानमा जुटेको छ । निगमका आन्तरिक र बाह्य क्रियाकलापलाई एकै सफ्टवेयरबाट नियन्त्रण, सञ्चालन र अनुगमन समेतका सम्पूर्ण कार्य गर्ने गरी निगमले नयाँ सफ्टवेयर भित्र्याउँदै छ । तेल र ग्यासको कारोवार गर्ने विश्वका ७० प्रतिशतभन्दा बढी संस्था, कम्पनीले यो सफ्टवेयर प्रयोगमा ल्याइरहेको निगमका इञ्जिनीयर राजन नेपाल बताउछन् ।
निगमले हाल विभिन्न कार्यका लागि भिन्नभिन्न सफ्टवेयर प्रयोग गरिरहेको छ । यसका लागि कर्मचारी प्रशासन, लेखा, बिलिङ जस्ता सफ्टवेयर प्रयोगमा रहेका छन् । अब यो नयाँ प्रणाली शुरु भएपछि त्यस्तो हुने छैन । यी सबै इकाइलाई एकै सफ्टवेयरभित्र एकीकृत गरिने छ । निगमले यो योजना सफल बनाउन अहिले इन्टरप्राइज रिसोर्स प्लान (इआरपी) परियोजना सञ्चालन गरिरहेको छ ।
के हो इआरपी ?
विसं २०७७ साउन १ गतेदेखि शुरु भएको यो इन्टरप्राइज रिसोर्स प्लान ९इआरपी० परियोजनाले निगमको सम्पूर्ण कागजी प्रक्रियालाई पूर्ण रुपमा डिजिटलाइज्ड प्रविधिमा रुपान्तरण गर्नेछ । निगमका सम्पूर्ण कार्यलाई एक आपसमा पारदर्शी र देखिने बनाउन यो परियोजनाले काम गर्दैछ । त्यही उद्देश्य हासिल गर्न निगमले विश्वव्यापी बोलपत्र आह्वान गरेको थियो ।
बोलपत्रबाट जर्मनीमा विकास गरिएको एसएपी बिजनेस १ नामको सफ्टवेयर खरीद गर्न छनोट भएको हो । निगमले यस सफ्टवेयरको लाइसेन्स, पूर्वाधार निर्माण र मानव संशोधनका लागि करीब रु २२ करोड खर्च गरेको छ । विश्वका तेल र ग्यास उद्योगसँग सम्बन्धित ७० प्रतिशतले यही सफ्टवेयर प्रयोगमा ल्याइरहेको इञ्जिनीयर एवं परियोजनाका प्रमुख राजन नेपालले बताए । उनी भन्छन्, ‘‘यो सफ्टवेयर भारत, तान्जानिया र सिङ्गापुरजस्ता देशमा सफलतापूर्वक प्रयोग भइरहेको छ ।’’
अहिले यस प्रविधिको प्रयोगका सन्दर्भमा निगमका इञ्जिनीयर र विदेशी परामर्शदाता इञ्जिनीयरले दिनरात काम गरिरहेको नेपाल बताउछन् । उनका अनुसार यो सफ्टवेयरलाई यही वैशाख ३ गतेदेखि परीक्षणका रुपमा सञ्चालन गरिनेछ भने साउन १ गतेदेखि “रियल टाइम लाइभ”मा जाने तयारी पनि गरिएको छ । रासस