काठमाडौं, बैशाख ३। करीब ५ वर्षमा ओभर दि काउन्टर (ओटीसी) बजारमा कारोबारका लागि १ सय ३६ ओटा कम्पनी दर्ता भएका छन् । यीमध्ये चालू आर्थिक वर्ष (आव) २०७७/७८ मा मात्रै १४ ओटा ओटीसीमा दर्ता भएका छन् ।
ओटीसी दर्ता शुरू गरेको करीब डेढ वर्षसम्म करीब २० ओटा कम्पनी मात्रै दर्ता भएका थिए । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत नभएका वा नेप्सेको सूचीबाट हटाइएका पब्लिक कम्पनीहरूको शेयर कारोबार ओटीसीमार्फत गरिन्छ ।
अहिले ओटीसीमा दर्ता गर्ने कम्पनी संख्या बढ्दै जानुको कारण लगानीकर्ता सचेत हुँदै गएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्र सिंह साउदको भनाइ छ । अहिले ओटीसीमा दर्ता नभए कम्पनी रजिस्ट्रारको कार्यालयले पनि रेकर्ड राख्न गाह्रो मान्ने भएकाले दर्ता संख्या बढेको उनले बताए ।
कम्पनी रजिस्ट्रार कार्यालयले कम्पनीको शेयर नामसारी तथा किनबेच अनिवार्य रूपमा ओटीसी बजारमार्फत गर्न सम्बद्ध निकायलाई निर्देशन दिएको छ ।चालू आवमा ओटीसीमा राम्रो दर्ता तथा कारोबार भएको छ । नेप्सेका अनुसार दर्ता हुन आएकोमा अस्पतालहरू, शैक्षिक संस्था, जलविद्युत् कम्पनी रहेका छन् । पब्लिकमा गई नसकेका जलविद्युत् कम्पनीहरू पनि ओटीसीमा दर्ता भएका छन् ।
नेप्सेका अनुसार चालू आवमा मात्रै ओटीसीमा २ सय ८७ पटक कारोबार भएको छ । ती कम्पनीको ८६ लाख ४३ हजार ९ सय ६९ कित्ता शेयरबाट २ अर्ब ६४ करोड ८४ लाख ५२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
ओटीसी बजारमा दर्ता संख्या र कारोबार बढ्दै गएपछि नेप्सेले थप व्यवस्थित गर्न कार्यविधि बनाउन समिति गठन गरेको छ । नेप्सेका निरञ्जन फुयालको संयोजकत्वमा बनेको समितिमा सीडीएस एन्ड क्लियरिङ हाउस, मर्चेन्ट बैंकर्सको र कम्पनी रजिष्ट्रार कार्यालयको प्रतिनिधिलगायत रहेका छन् ।
करीब २ साताअघि गठित उक्त समितिले यसअघिको कार्यविधिलाई संशोधन गरी समयअनुकूल बनाउने नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले जानकारी दिए । आर्थिक अभियान दैनिकबाट