Logo

कोरोनाबाट १४ जिल्ला अतिप्रभावित, भीडभाड नगर्न स्वास्थ्य मन्त्रालयको अपील



काठमाडौं, बैशाख ३। सरकारले कोभिड–१० को दोस्रो लहर बढेको निष्कर्ष निकाल्दै १४ अतिप्रभावित जिल्लाको वर्गीकरण गरी विद्यालयसहित भीडभाडका क्षेत्र बन्द गर्न अपील गरेको छ । बिहीवार भएको सरकारको सचिवस्तरीय बैठकले १४ अतिप्रभावित जिल्ला छुट्ट्याएर कडाइ गर्ने निर्णय गरेको हो ।

सरकारले काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर र कैलालीलाई अतिप्रभावित जिल्लामा वर्गीकरण गरेको छ । यसैगरी मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई पनि अतिप्रभावित जिल्लामा वर्गीकरण गरी मन्त्रालयले ती स्थानमा विद्यालय नजान र बढी भीडभाड हुने स्थानमा सहभागी नहुन अपील गरेको हो ।

बिहीवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना निकाल्दै ती जिल्लामा विद्यालय, रात्रिव्यवसाय एवं ७ बजेपछिका सबै रेस्टुराँ एवम् क्लब, खेलकुद, जीम, धार्मिक स्थल, सिनेमा हल, सभा, सम्मेलन, जात्रा, बैठक, सिनेमा, नाटकगृह, पार्टी प्यालेसलगायत सबै भीडभाड हुने क्षेत्र बन्द गर्न स्थानीय तहलाई आग्रह गरेको हो ।

मन्त्रालयले देशभरका सबै सरकारी अस्पतालका ५० प्रतिशत बेड कोरोना संक्रमितका लागि छुट्ट्याउन निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीद्वारा जारी अपीलमा सबै सरकारी अस्पतालमा ५० प्रतिशत बेड छुट्ट्याएर निःशुल्क कोरोना संक्रमितको उपचार गर्न निर्देशन दिएको हो ।

यसअघि कोरोनाका बिरामीलाई अस्पतालहरूले अन्य अस्पताल सिफारिश गरेर दुःख दिने गरेकोमा नियमित सेवा लिइरहेका बिरामीमा कोरोना पुष्टि भएमा अन्य अस्पताल पठाएर दुःख नदिन निर्देशन मन्त्रालयले दिएको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot