Logo

‘म सरकारको विरोधमा छैन’



काठमाडौं, बैशाख ३ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफूहरूले केपी ओली नेतृत्व सरकारको विरोध गर्नुपर्ने कारण नभएको बताएका छन्। नेपाली कांग्रेस र माओवादी केन्द्रले जसपाको साथ लिएर ओली नेतृत्वको सरकारलाई हटाउने तयारी गरिरहेका बेला ठाकुरले आफूले उठाएका मुद्दा सम्बोधन गर्न सरकार सकारात्मक ढंगले अघि बढेको बताएका छन्।

‘हामीले राखेका माग पूरा गर्न सरकारले प्रक्रिया अघि बढाएको छ’, प्रधानमन्त्री ओलीसँग भेटेपछि जसपा अध्यक्ष ठाकुरले भने, ‘यही विषयमा छलफल गर्न बिहीबार भेट भएको हो।’ कुन प्रक्रिया र कसरी माग सम्बोधन गर्ने भन्नेबारे छलफल भइरहेको जानकारी उनले दिए। आफू वर्तमान सरकारको विरोधमा नभएको प्रस्ट पार्दै भने उनले भने, ‘म यो सरकारको विरोधमा छैन।’

जसपा कार्यकारिणी समितिका सदस्य केशव झाले प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुरबीच पछिल्लो समय नियमितजसो भेटवार्ता भइरहेको बताए। जसपाका माग सम्बोधन गर्ने विषयमा छलफल गर्न भेट हुने गरेको उनको भनाइ छ। जसपाका मागमध्ये सरकारले मुद्दा खारेज गर्ने प्रक्रिया अघि बढाएको छ। यसैगरी सांसद रेशम चौधरीलाई थुनामुक्त गर्ने प्रक्रिया पनि सरकारले अघि बढाएको छ।

सरकार–जसपा कार्यदलको बैठक पनि बिहीबार अपराह्न बस्यो। कार्यदलमा विष्णु पौडेल, सुवास नेम्वाङ, राजन भट्टराई, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण छन्। शुक्ल र कर्ण दुवैै ठाकुर निकट मानिन्छन्। प्रधानमन्त्रीले जसपाले उठाएका माग सम्बोधन गर्न संयुक्त कार्यदल बनाएका हुन्। जसपाले मधेस आन्दोलनका क्रममा लगाइएका झुटा मुद्दा खारेज गर्न, नागरिकता विधेयक पास गर्न, रेशम चौधरी रिहा हुने वातावरण बनाउन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न तथा संविधान संशोधन गर्न माग राखेको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्