Logo

सत्ताको खेलमा महन्थको महत्व ह्वात्तै घट्यो



काठमाडौं, ४ वैशाख । सत्ता समिकरणको निर्णायक शक्तिमा गनिएको जनता समाजवादी पार्टीप्रतिको चासो घटेको छ । हिजो कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको निर्देशन अनुसार ४ सांसदले फ्लोर क्रस गरेपछि जसपाप्रति केन्द्रको सत्ता समिकरणको खेलमा चासो घटेको हो ।

शुक्रबारको घटनापछि माधवकुमार नेपाल निर्णायक शक्तिका रुपमा उदाएका छन् । उनीसँग रहेका ३० भन्दा बढी प्रतिनिधि सभा सांसदहरुले सत्ताको खेललाई वार कि पार बनाउन सक्ने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सत्ता समिकरणको प्रयास भइरहँदा जसपा निर्णायक शक्ति थियो । जसपासँग रहेको मतदान गर्न पाउने ३२ सांसद काँग्रेस र माओवादी केन्द्रसँग समिकरण बनाउँदा सरकार निर्माणका लागि पर्याप्त हुन्छ । काँग्रेस र माओवादी केन्द्रले ओलीको विकल्प खोज्ने सबै तयारी गरिसक्दा जसपाले निर्णय दिएन ।

जसपाले विभिन्न एजेन्डा उठाएर अलमल गरिरह्यो । जसपाको महन्थ ठाकुर पक्षधर प्रधानमन्त्री ओलीसँगको समिकरणका लागि अगाडि बढ्यो । ठाकुरले निकै राजनीतिक महत्व पाए । उनी प्रधानमन्त्री बन्न सक्ने चर्चा पनि चल्यो । उनको दाबी पनि त्यही थियो । तर, माधव नेपालले शुक्रबार कर्णाली प्रदेशमा कठोर कदम चाल्न ४ सांसदलाई निर्देशन दिएर त्यहाँको सत्ताको खेललाई उल्टाइदिएपछि नयाँ घटना विकास भएको छ ।

अब केन्द्रमा पनि माधव नेपालकै भूमिका महत्वपूर्ण हुनथालेको छ । ओलीविरुद्ध अविश्वासको प्रस्तावको तयारी भइरहँदा जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराईबाहेकको समूह बिच्किँदा पनि फरक नपर्ने संकेतहरु देखिएको छ । माधव नेपाल समूहले फ्लोर क्रसको संकेत कर्णालीको घटनाबाट गरिसकेको छ ।

पछिल्लो घटनाले महन्थको महत्व घटाइदिएको छ । माधव नेपाल एकाएक सत्ताको खेलमा निर्णायक शक्ति बनेर आएका छन् । उनले ओलीको अस्त्रमाथि कडा अस्त्र प्रहार गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्