काठमाडौं, ४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको सर्बदलीय बैठक नेकपा (माओवादी केन्द्र) ले बहिष्कार गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीलाई बालुवाटार नआउने जवाफ दिएका थिए । बैठकमा सहभागी हुनका लागि प्रधानमन्त्री ओलीले दाहाललाई आँफै फोन गरेका थिए ।
त्यतिवेला दाहाल ललितपुरमा एक कार्यक्रममा सहभागी हुन जाँदै थिए । आजको बैठकमा दाहालमात्रै होईन, उनको पार्टीबाट कोही पनि सहभागी भएनन् । बैठकमा सहभागी नभएको विषयमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले बैठकबारे माओवादी केन्द्रका साथीहरु जानकार नै रहेको प्रतिक्रिया दिए ।
तर, उनले माओवादी केन्द्रबिना पनि देश चल्ने पनि टिप्पणी गरेका छन् । बालुवाटार बैठकबाट बाहिरिने क्रममा मिडियाकर्मीहरुसँग कुरा गर्दै ज्ञवालीले भने–‘हिजो त व्यापकै थियो त, कार्यक्रममा हुँदाहुँदै प्रधानमन्त्रीको फोन आयो भनेर प्रचण्डले भन्नुभयो, उहाँहरु किन आउनुभएन ? किन यस्तो गरिरहनु्भएको छ, त्यो उहाँहरुले जान्ने कुरा हो । उहाँहरुले थाहा पाउनुपर्छ कि उहाँहरु नहुँदापनि देश चल्छ ।’ File Photo/ReportersNepal