Logo

छापामार शैलीमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने प्रचण्डको रणनीति



काठमाडौं, ४ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीति क्लाइमेक्समा पुगेको टिप्पणी गरेर नयाँ संकेत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुनैपनि हालतमा सत्ताबाट हटाउन सक्रिय प्रचण्डले सत्तासंघर्षतर्फ संकेत गर्दै क्लाइमेक्समा पुगेको टिप्पणी गरेका हुन् ।

कर्णाली प्रदेशमा ४ जना नेकपा एमालेका सांसदलाई फ्लोर क्रस गर्ने अवस्था बनाउन सफल भएपछि प्रचण्ड उत्साही भएका छन् । उनले गण्डकी प्रदेशमा सरकार परिवर्तनको प्रक्रिया बढाइएको र लुम्बिनीमा पनि हस्ताक्षर अन्तिम अवस्थामा पुगेको खुलाएका छन् । यसलाई प्रचण्डले ओलीविरुद्ध बन्दै गरेको सत्ता समिकरणतर्फ संकेत गरेका छन् ।

प्रदेशहरुमा काँग्रेससँग माओवादी केन्द्रको सत्ता समिकरण भइसकेको छ । जुन कर्णाली प्रदेशमा देखिएको छ । गण्डकीमा पनि दुई पार्टी मिलेका छन् । राष्ट्रिय जनमोर्चाको पनि गण्डकीमा पुथ्वी सुब्बा गुरुङ्गविरुद्धको कदममा साथ मिल्ने निर्णय आइसकेको छ । योसँगै प्रचण्डले ओलीलाई हटाउने मौका कुरेको देखिदैछ ।

एमालेको माधवकुमार नेपाल पक्षधरले धमाधम विद्रोह गरी नेपालको संसदीय इतिहासमै नभएको फ्लोर क्रसपछि ओली सरकार धरापमा परेको छ । अविश्वासको प्रस्ताव आइहालेमा माधव नेपाल पक्षधर सांसदहरुले फ्लोर क्रस गर्ने सम्भावना नकार्न नसकिने भएको छ ।

ओलीविरुद्ध सत्ता समिकरण भित्र भित्र बन्दै गरेको छ । दलहरुबीच सहमति अन्तिम चरणमा पुग्न लागेको छ । कुनैपनि बेला सहमति बनेर अविश्वासको प्रस्ताव आउने बुझिएको छ । प्रधानमन्त्री ओलीले त्यस अगावै कठोर कदम चाल्न सक्ने भएकाले छापामार शैलीमा अविश्वासको प्रस्ताव ल्याउने रणनीति बनिसकेको बुझिएको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्डका अलावा जनता समाजवादी पार्टीका नेताहरु बाबुराम भट्टराई र उपेन्द्र यादव सत्ता समिकरणमा सक्रिय छन् । माधवकुमार नेपालसँग प्रचण्डले आज विहानै भेटवार्ता गरेका छन् । ओलीविरुद्ध समिकरण बनाउन नेताहरु सक्रिय भइरहँदा कुनैपनि बेला अविश्वासको प्रस्ताव आउने संकेत देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot