Logo

एमसीसी सम्झौताः सभामुखले टेबल नगरेकोप्रति प्रधानमन्त्री रुष्ट



काठमाडौं, बैशाख ५ । संसद्मा विचाराधीन मिलेनियम च्यालेन्ज कर्पोशन (एमसीसी) सम्झौतालाई अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दलको साथ खोजेका छन् ।

संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग शनिवार बालुवाटारमा सर्वदलीय बैठक गर्दै प्रधानमन्त्री ओलीले संसद्मा लामो समयदेखि विचाराधीन एमसीसी सम्झौता अघि बढाउन सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको हो ।

उहाँले एमसीसी सम्झौता संसद्मा टेबल गर्न नदिई रोकेको भन्दै सभामुखप्रति आक्रोश पोखे । बैठकमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘एमसीसी पास गर्ने कि नगर्ने संसद्लाई अधिकार छ । तर, सभामुखले हुँदै नभएको तजबिजी अधिकार प्रयोग गरेर यसलाई रोक्न मिल्दैन भन्नेमा सबै दलको साझा धारणा रह्यो ।’ केही दलले एमसीसी सम्झौताको आलोचना गरे पनि संसद्ले बिजनेश रोक्न नमिल्ने भन्दै एमाले नेतासमेत रहेका परराष्ट्रमन्त्री ज्ञवालीले सभामुख र कार्यव्यस्थामा छलफल गरेर यो विषय टुंगोमा पुर्‍याउनुपर्नेमा सबै सहमत भएको बताए ।

सरकारका कारण नभई संसद्को नेतृत्वका कारण महत्वपूर्ण विषय अड्किएको सरकारको दाबी छ । एसिड आक्रमण, कोेरोना खोपसम्बन्धी अध्यादेशलाई संविधानको प्रावधानविपरीत पहिलो दिन प्रवेश नै गर्न नदिइएको भन्दै उनले भने, ‘सरकारका कारण होइन, संसद्को नेतृत्वका कारण कतिपय बिजनेश अड्किएका छन्, यसबारे एउटा समझदारी होस् भन्ने चाहेका छौं ।’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि एमसीसीलाई अघि बढाउने आफूहरू सकारात्मक रहेको भन्दै कार्यव्यवस्था परामर्श समितिमा बिजनेश लिएर प्रस्तुत हुन प्रधानमन्त्रीलाई सुझाव दिएको छ । कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीलाई टेबल गर्छौं भनेर कार्यव्यवस्थामा प्रस्तुत हुन सुझाव दिएको बताए ।आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्