वीरगञ्ज, बैशाख ५ । वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ९ महीनामा आयात ८ प्रतिशतले बढ्दा निर्यात व्यापारमा करीब २५ प्रतिशतले वृद्धि भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको साउनदेखि चैतसम्ममा ३ खर्ब ६३ अर्ब रुपैयाँ बराबरको मालसामान भित्रिएको छ । यो गत आव २०७६र७७ को समीक्षा अवधिमा आयातित वस्तुको मूल्यको तुलनामा २७ अर्ब रुपैयाँले बढी हो ।
गत आवको चैत मसान्तसम्ममा यो भन्सारबाट ३ खर्ब ३६ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको वीरगञ्ज भन्सारका सूचना अधिकृत सुमित गुप्ताले जानकारी दिए । यो वर्ष वीरगञ्ज नाकाबाट मुख्यतः इन्धन, सवारी साधन, औद्योगिक कच्चा पदार्थ, सवारीसाधनका पाटपूर्जा, ब्याट्रीलगायत वस्तु भित्रिएको भन्सारको तथ्यांकले देखाउँछ ।
निर्याततर्फ भटमास र सूर्यमुखीको प्रशोधित तेल, जुस जाम, कपडा, जुत्ता, दन्तमञ्जन, धागोजस्ता वस्तुको निर्यात भएको छ । सो अवधिमा उक्त नाकाबाट ३१ अर्ब ७६ करोड रुपैयाँबराबरको वस्तु निकासी भएको छ । स्वदेशी उद्योगले अघिल्लो वर्षको चैत मसान्तसम्म २५ अर्ब ४५ करोड रुपैयाँ बराबरको उत्पादन निर्यात गरेको भन्सारको तथ्यांक छ । यस वर्षको निकासी व्यापार गतवर्षको समीक्षा अवधिभन्दा ६ अर्ब ३१ करोड रुपैयाँले बढी हो । आर्थिक अभियान दैनिकबाट