काठमाडौं, बैशाख ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाप्रति चर्को असन्तुष्टि जनाएका छन्। एमसीसी, कोभिड महामारी, उपनिर्वाचन, कांग्रेस महाधिवेशनलगायत विषयमा सहमति खोज्न शनिबार बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओली सभामुखविरुद्ध खरो रुपमा प्रस्तुत भए। प्रधानमन्त्री ओलीले बैठकमा सभामुख सापकोटाका कारण काम गर्न अप्ठ्यारो भएको भन्दै विकल्प खोज्नुपर्ने बाध्यता आउन सक्ने चेतावनीसमेत दिए।
प्रधानमन्त्री ओलीले सभामुख सापकोटाकै कारण एमसीसी, अध्यादेशलगायत बिजनेस अड्किएको जानकारी दिए। ‘एमसीसी पास गर्छ कि गर्दैन त्यो प्रतिनिधिसभाको कुरा हो’, ओलीले बैठकमा भने, ‘सरकारले प्रस्तुत गरिसकेपछि त्यस्तो प्रस्ताव सभामुखले अराजनीतिक, असंवैधानिक, अलोकतान्त्रिक तरिकाले रोक्न मिल्दैन, रोक्न पाइँदैन।’
सरकारले प्रस्तुत गरेको कुनै पनि प्रस्ताव रोक्नु सभामुखको अधिकारभित्रको कुरा नभएको प्रधानमन्त्रीको भनाइ छ। ‘त्यो संसद्को, प्रतिनिधिसभाको अधिकार हनन् हो। त्यस्तो गर्नुहुँदैन। र, त्यस गल्तीलाई अब निरन्तरता दिन सकिँदैन’, ओलीले भने, ‘सभामुखज्यूले सच्याउनुपर्छ र उहाँले त्यसलाई पेस गर्नुपर्छ। यसमा एउटा सहमति नै छ।’
ओलीले कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर ७ गतेको प्रतिनिधिसभा बैठकमा निर्णयार्थ प्रस्तुत गर्नुपर्ने सर्त राखे। नत्र सभामुखको विकल्प खोज्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो। ‘यदि कुनै हालतमा गर्नुहुन्न भने दुईवटा कुरामध्ये हामीले एउटा रोज्नुपर्छ’, ओलीले भने, ‘मन लागे प्रस्तुत गर्ने, मन नलागे प्रस्तुत नगर्ने यो त सभामुख संविधान कानुनभन्दा माथि हुन्छ। त्यसकारण सभामुखले जे गर्न पाउँछ, स्वेच्छाको कुरा हो भनेर मान्नुपर्यो, या त विकल्प खोज्नुपर्यो। त्यो दुईबाहेक हामीसँग अरु विकल्प रहँदैन। त्यसकारण यस कुराको फैसला हामीले ७ गतेभित्र गर्नुपर्छ।’
उनले ओलीलाई सरकारबाट हटाए आफूले पास गर्ने कुरा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी राजदूतसँग गरेको दाबी गरे। ‘अहिले प्रचण्डले अमेरिकन एम्बेस्डरलाई बोलाएर रिपिटियाड्ली भनिराख्नुभएको छ केपी ओली हुँदा पास गर्दैन, म बनेपछि पास गर्छु। मलाई मद्दत गर्नुस्’, ओलीले भने।
एमसीसी सम्झौता कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा भएको हो । अन्नपूर्ण पोस्ट् दैनिकबाट