Logo

केपी ओलीबिना पनि देश चल्छ, अब छिट्टै कांग्रेसको नेतृत्वमा सरकार बन्छ : देवेन्द्र पौडेल



नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीबिना पनि देश चल्ने टिप्पणी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अब छिट्टै नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने पनि दाबी गरेका छन् । यसको लागि आफूहरुले गृहकार्य गरिरहेको पौडेलले जानकारी दिए । प्रस्तुत छ नेता पौडेलसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंश :

हिजोको सर्बदलीय बैठकमा तपाईँहरु किन जानुभएन ?

यो देश प्रधानमन्त्रीको मात्रै एकल देश होईन । यो देश उनको निजी कम्पनी पनि होईन । यो देशको परिवर्तनको निम्ति, यो देशको रक्षाको निम्ति सबैले रगतपसिना बगाएका छन । पछिल्लो परिवर्तनको निम्ति सबैले यनेगदान गरेका हुन । त्यसैले प्रधानमन्त्रीले अरुको पनि कदर गर्ने, अरुको पनि सम्मान गर्ने, अरुको भूमिकालाई पनि कहीँ न कहीँ सहमतिमा लिने कुरालाई आफ्नो जीवनमा पहिले सच्याउनुपर्छ । र, अरुको आलोचना गर्न मिल्छ ।

प्रधानमन्त्रीले भन्नुभएको छ–‘एमसीसी पारित हुन्छ भनेर, म अनुमोदन गराएरै छाड्छु, माओवादी केन्द्र नआएर फरक पर्दैन् ? माओवादीबिना पनि देश चल्छ ।’ यसबारेमा तपाईँको प्रतिक्रिया के छ ?

केपीबिना पनि देश चल्छ । उहाँले अलि संकेत गर्न खोज्नुभएको हो, सभामुखप्रति आकर्षित गर्न खोज्नुभएको र उहाँले चाहेको त्यही थियो । प्रधानमन्त्री, राष्ट्रपति र सभामुख पद पनि, र संवैधानिक निकायका पदहरु पनि सबै आफुले एक ठाउँमा लिएर देशलाई लोकतन्त्र प्रणाली प्रतिष्पर्धा सबैबाट चिप्ल्याएर आफ्नो अनुकुलतामा ल्याएर देशमा निरंकुशता लाद्न खोज्नुभएको रहेछ भन्ने कुरा पुष्टि भएको छ । त्यसको निम्ति सभामुख पद उहाँलाई अप्ठ्यारो परेको हुँदाखेरि व्यक्तिगत रिसिईबी भन्दा त्यो पद आफ्नो अनुकुलतामा ल्याउनको निम्ति उहाँले त्यस्तो गरेको हुनसक्छ ।

एमसीसी पारित गराउनुभएन र बैशाख ७ गतेको बैठकमा सदनमा एमसीसी निर्णयार्थ पेश भएन भने उहाँलाई हटाईन्छ र उहाँको विकल्प खोजिन्छ पनि भन्नुभयो अरे नि ?

आफ्नो विवेक प्रयोग गर्नुहुन्छ । सभामुखलाई उहाँले हटाउन सक्नुहुन्न् ।

तर, हटाउन सकिन्छ भनेर हिजो प्रधानमन्त्रीले भनिसक्नु भएको छ त ?

कहाँबाट ? कसरी विकल्प खाज्ने ? सभामुखलाई हटाउन त संसद्मा कहीँ न कहीँ सहमतिबाट नै प्रक्रिया हुनुपर्यो । नत्रभने महाअभियोगको केशमा जानुपर्छ । त्यसको पनि दुईतिहाई पुग्दैन् । उहाँहरुले सभामुख हटाउनैँ भन्ने कुरा खाली प्रचारमात्रै हो ।

त्यसोभए सभामुखले एमसीसी पास गराउने कि नगराउने त ? तपाईँको विचार के छ ?

सखामुखले आफ्नो विवेक प्रयोग गर्नुहुन्छ । उहाँले के गर्नुहुन्छ ? के गर्नुहुन्न ? भनेर टिप्पणी गर्न त अलि शोभनीय नहोला । तर, फेरिपनि देशको र जनताको पक्षमा अरु कतिपय दलहरुसंग परामर्श गरेर त्यहाँ कार्यव्यवस्था समिति छ, त्यहाँपनि प्रश्नहरु र विषयहरु उठ्लान् । सदनका गरिमा र यसको मुल्य र परामर्श समितिमा के विषयमा दलहरुले आफ्नो कुरा राख्छन् त्यसलाई हेरेर सभामुखले निर्णय गर्नुहुन्छ ।

उसो भए एमसीसी पारित गराउनको लागि माओवादी केन्द्र तयार छ ?

अहिलेको अवस्थामा एमसीसीलाई परिमार्जनसहित पारित गर्नेमा हामीले सहमति जनाएका थियौं । परिमार्जनको कतैपनि केही प्रसँग छैन । कतिपय अन्तर्राष्ट्रि शक्ति केन्द्रको आर्शिवाद लिनको निम्ति त्योपनि सत्तालाई जोगाईरहने प्रलोभनका लागि निक्कै गम्भीर प्रकृतिका तानाबानासहित उहाँले यो एमसीसी प्रवेश गराएको हामीले महसुस गर्छौं । यो हराईसकेको थियो । संसारभरिनै कोभिडको महामारी फैलिएको बेलामा एमसीसी जस्ता विषयको चर्चा छैन । तपाईले अहिले भर्खरै पनि समाचार हेर्नुभयो भने दैनिक दुई लाखभन्दा बढिको संख्यामा कोरोना बढेको छ । यतातिर ध्यान दिँदा प्रधानमन्त्रीको कमसेकम जनताको पक्षमा सोचे भन्ने कुराको कहीँ न कहीँ जस्टीफाई हुन्थ्यो ।

प्रधानमन्त्रीलाई त एमसीसी पारित गराएर सरकार टिकाउनु छ नि त ? अनि तपाईँहरु किन साथ नदिने ?

खास गरेर नेपाली काँग्रेस र अरु दल जसले यो एमसीसी पारित हुनुपर्छ भन्नेले यो बाटोबाट प्रवेश गरियो भने सरकार टिकाउनका निम्ति कहीँ न कहीँ एउटा सहमति जुट्ला भन्ने मनशायलेमात्रै अहिले यो बीचमा एमसीसीको बारेमा कुनै प्रसंग पनि छैन । उहाँले असान्दर्भिक समयमा त्यही एमसीसीको कुरा उठाउनु भएको हो ।

प्रधानमन्त्रीको भनाई छ–‘माओवादी केन्द्रले देशलाई बिगार्यो ? न समर्थन फिर्ता लिन्छ न सहयोग गर्छ ?’ तपाईँको प्रतिक्रिया के छ त ?

उहाँले केहीपनि सपार्नुभएन । आफ्नो दल व्यवस्थापन पनि गर्न सक्नुभएन । त्यसको साथसाथै, दुईतिहाई प्राप्त गरेका दल, आफना नेता केहीपनि व्यवस्थान गर्न नसकेको हुँदाखेरि माओवादीले देश बिगार्यो भन्न चाहीँ एउटा फगत कल्पनाबाहेक केहीपनि होईन । उहाँ त्यत्रो हैसियत प्राप्त गरेर माओबादीले प्रधानमन्त्री चलाउनुहोस् भनेर पहिल्यनै एक रूपमा उहाँलाई जिम्मेवार दिँदाखेरि पनि भद्रगोल पार्ने काम चाहीँ उहाँले गर्नुभयो । त्यसैले माओवादीले बिगारेको होईन कि नेपालको वामपन्थी मोर्चालाई र नेपालको लोकतान्त्रिक आन्दोलनलाई उहाँले विक्षिप्त बनाएको मैले महसुस गरेको छु ।

तपाईँको पार्टीका अध्यक्ष प्रचण्डले त ‘अब संघ र प्रदेशमा छिट्टै नयाँ सरकार गठन हुन्छन्’ भनेर उद्घोष गर्नुभएको छ, के यो साँचो हो ? यसको कारण र आधार दिनुहोस त ?

गाणितीय रूपमा प्रधामन्त्रीले अब सबै प्रदेश र संघीय सरकारमा पनि बहुमत पाउनुहुन्न । त्यसको प्रकरण कर्णाली प्रदेशबाट सुरु भएको छ । गण्डकी प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भईसकेको छ । त्यसबाट जोगिनको लागि घोषण भईसकेको सदन स्थगन भएको नाटक गरिएको छ । यी सबै प्रकरणहरु हेर्दाखेरि प्रधानमन्त्रीले विभिन्न प्रकारका तानाबाना बनाएर सरकार टिकाउने कुनै नैतिकताको मुल्य मान्यताको राजनीति नभएर सरकार कसरी टिकाउन सकिन्छ भन्ने खेलमा लाग्नुभएको हामीले महसुस गरेका छौँ । सम्भवतः उहाँ आफ्नै दलभित्र पनि अल्पमत र अप्ठ्यारेमा हुनुहुन्छ । मैले दोहोर्याएर भन्न चाहन्छु–त्यसको प्रकट कर्णालीले गरिसकेको छ । त्यसोभएर उहाँले ठुला÷ठुला कुरा गरेर अरुको आलोचना गर्नुभन्दा आफु सम्हालिएर सहमतिको विन्दु खोज्दा राम्रो हुन्छ ।

कर्णालीमा गलत काम भयो भनेर ओली पक्षका नेताहरुले टिप्पणी गर्नुभएको छ, अहिले फ्लोर क्रस गर्ने चार जना नेताहरुको त सांसद पद नै गयो नि त ?

उहाँलाई अर्को कुनै पार्टीले साथ दियो भने भयंकर राम्रो काम हुन्छ । त्यसको जस्टीफाई गर्न सक्नुहुन्छ उहाँले, उहाँको विचारसंग विमति राख्ने कुरा कसैले गर्यो भने घात भयो भन्न मिल्छ ? मानिसको संयमततालाई उहाँले सम्मान गर्न सक्नुपथ्र्यो नि । अदालतले फैसला गरिसकेपछि आफनो पार्टीका फर्केका साथीहरुलाई सम्हाल्न सक्नुपर्दैनथ्यो त उहाँले ? त्यसो भएर उहाँले केही पनि सम्हाल्नुहुन्न ।

तपाईँहरुले सरकारलाई दिएको सर्मथन कहिलेसम्म जारी राख्ने ? अब त धेरै ढिला भयो भन्ने आरोप छ नि ?

मैले भनिसकेँ हामीले निर्णय गरिसकेका छौँ । हामीले कमसेकम सहमति भयो भने दुईवटै कुरा एकैपटक अविश्वासको प्रस्ताव दर्ता र समर्थन फिर्ता पनि हामीले एकैपटक गरौँ भनेका छौँ । किनभने संविधानको धारा ५६ मा चार÷पाँच वटा उपधारा छन् । तीमध्ये उपधारा दुईकै वरिपरिको सरकार अन्तर्गत जाउँ भनेर हामीले समयप्रतिको निर्णय गरिसकेका छौँ ।

तपाँईँहरुको निर्णय कार्यान्वयन हुनु परेन ?

कार्यान्वयन हुन्छ ।

कहिलेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिनुहुन्छ ?

हामी करिब–करिब सरकारलाई दिएको समर्थन फिर्ता लिने नजिक–नजिक पुगेका छौँ । एक हप्ता आसपासमा हामीले एउटा निर्णय गर्छौं । भोलि पनि स्थायी कमिटी बैठक छ । त्यहाँ पनि हामीले यो बारेमा गम्भीर समिक्षा र छलफल गर्छौं । हामीले छिट्टै यसबारेमा एउटा कोर्ष लिन्छौं ।

उसो भए भोलिको स्थायी कमिटी बैठकमा सरकारलाई दिएको सर्मथन फिर्ता लिनेबारे निर्णय आउँछ त ?

मैले अहिले नै भन्दिनँ, त्यो विषयमा छलफल हुन्छ । निणर्य हुन्छ ।

त्यसोभए तपाईँहरू अनिर्णयको बन्दी बन्न्भएको छैन ?

हामी किन अनिर्णयको बन्दी बन्ने ? हामी त प्रष्ट छौँ । आफ्नो विचार र दृष्टिकोणमा हामी प्रष्ट छौं । हामीले पछिल्लो समयमा केपी शर्मा आलीलाई फुल फेजमा सहयोग गर्दागर्दै पनि उहाँले सम्हाल्न नसकेको हुँदाखेरी उहाँको विकल्पमा उहाँले चालेका कदमप्रति विमति राख्ने एउटा सहमतिको सरकार बन्नुपर्छ । देशलाई स्थायित्व र समृद्धिको बाटोमा लैजानुपर्छ । व्यक्तिगत रूपमा उहाँहरुले पनि उल्लेख गरेर आउनुहुन्छ भनेदेखि सहकार्य हुनसक्छ । उहाँहरुसंग पनि र अरुसंग पनि हामीले सहकार्यको कुरा गरेकै छौँ । त्यसो भएर हामीले फेरि विकृत भएको राजनीतिलाई सम्हाल्ने पक्षमा अगाडि बढ्छौँ ।

त्यसो भए माधवकुमार नेपाल र प्रचण्डको बीचमा मात्रै सहकार्य हुने भयो नि त ?

त्यो कुराकानी हुनु राम्रो पक्ष हो । उहाँहरु दुबैजना सर्वोच्च अदालतको निर्णयभन्दा पहिला एउटै पार्टीमा हुनुहुन्थ्यो । संगै अभियानको रुपमा हिड्नुभएको थियो । पछि अदालतले निर्णय गरिसकेपछि स्थितिले उहाँहरुलाई अलग ठाउँमा बस्न बाध्य बनायो । पार्टीलाई अदालतले निर्णय गरिदिएको अवस्थाले अहिले विभिन्न प्रकारका खासगरी स्थानीय तह, संघमा जिम्मेवारी प्राप्त गरेका साथीहरु पनि ठुलो संख्यामा उहाँसित भएको हुँदाखेरि त्यसको बैधानिकतालाई पनि उहाँले मान्नुभएको छ । केही समयपछि यो प्रकृयाले अर्को अध्याय प्राप्त गर्नेछ । त्यसबेलामा सम्भवतः उहाँहरुसहित नयाँ शिराबाट गतिशिल आन्दोलन ध्रुवीकृत भएर अगाडि बढ्नेछ ।

त्यसोभए नयाँ नेकपाको गठन हुन्छ अब ?

मलाई जहाँसम्म लाग्छ, म आशावादी छु । हुन्छ । बनाउनुपर्छ अर्को विकल्प छैन ।

त्यसमा त केपी शर्मा ओलीको असहयोग रहन्छ होला नि ?

होईन, उहाँलाई पनि हामीले अपलि गछौँ । आएपनि ठिकै छ नआएपनि अरु सबै पार्टी उहाँले नै चलाई दिनुभएको त होईन । नेपाली काँग्रेस पनि धेरै वर्षदेखि चलेको छ । माआवादी आन्दोलन पनि उहाँले चलाई दिएको होईन, आलोचना गर्दाका बाबजुद पनि चलेकै छ । अरु पार्टी पनि चलेकै छन । त्यसो भएर उहाँबाहेक पनि नेपालको लोकतान्त्रिक प्रगतिशील आन्दोलन पनि र नयाँ पार्टीको फर्मेशन नयाँ रूपबाट हुनसक्छ ।

त्यसोभए नयाँ सरकार कहिलेसम्म बन्ला ?

अब छिट्टै बन्छ ।

कहिलेसम्म कति दिनमा ?

छिट्टै बन्छ ।

काँग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्छ ?

हामीले अहिलेसम्मको स्थिति हेर्दाखेरि सहमतिका आधारमा बन्ने भनेका छौँ । सहमतिका आधारमा जुटाउनुहोस् भनेर काग्रेसलाई वचन दिएका छौं । त्यसैले कांग्रेसकै नेतृत्व्मा सरकार बन्छ । File Photo/ReportersNepal

***

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot