Logo

परिस्थिति बनेमा काँग्रेस सरकारको नेतृत्वका लागि पछि हट्दैन: देउवा



काठमाडौं, ५ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक परिस्थिति बनेमा सरकारको नेतृत्वका लागि पछि नहट्ने बताएका छन् । उनले अझै पनि सरकार निर्माणको परिस्थिति नबनेको जिकिर गरे ।

आइतबार बुढानिलकण्ठस्थित आफ्नै निवासमा श्रीराम श्रेष्ठद्वारा लिखित नेपाली जन जातीय संस्कार र संस्कृति कृतिको विमोचन गर्दै देउवाले भने, ‘म प्रधानमन्त्रीको लागि लालायित छैन तर बहुमतको सरकारसँग निहु खोज्ने बेला पनि होइन ।’ उनले माओवादीले अझै पनि सरकारलाई दिइआएको समर्थन फिर्ता नलिएकाले सरकार बहुमतकै भएको उल्लेख गरे ।

देउवाले आफू प्रधानमन्त्री चाहियो भनेर मरिमेट्ने व्यक्ति नभएको बताए । उनले भने, ‘प्रधानमन्त्री चाहियो भनेर मरिमेट्ने कुरा छैन । तर, राजनीतिक परिस्थिति यदि हामीले नै नेतृत्व गर्नुपर्ने अवस्था आयो भने हामी पछाडि हट्दैनौं ।’

देउवाले अहिलेको राजनीतिक परिस्थिति निकै अन्यौलग्रस्त रहेको बताए । उनले भने, राजनीति तरल अवस्थामा छ, कता जान्छ भन्न सकिने अवस्था छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सत्ता समिकरणको प्रयास भइरहँदा देउवाको पछिल्लो भनाई सार्वजनिक भएको हो ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्

Screenshot