Logo

अटोमोबाइल व्यवसाय ठप्पै



काठमाडौं, बैशाख ६। बन्दाबन्दी खुलेसँगै अघिल्लो वर्षको साउनयता क्रमशः अटोमोबाइलको माग बढ्दै गएकोमा यस वर्ष व्यवसाय चलायमान हुने अपेक्षा व्यवसायीको थियो । तर, पछिल्लो समय भारतमा बढ्दै गएको कोरोनाको प्रभावस्वरूप आपूर्ति हुन नसक्दा यस वर्ष पनि अटोमोबाइलको विक्री ठप्पै जस्तो छ । नेपालमा हरेक वर्ष दशैंअगाडि प्रायः भदौमा हुने नाडा अटो शोदेखि दशैंसम्म सबैभन्दा बढी गाडी विक्री हुने गरेको छ । त्यसपछि सबैभन्दा बढी विक्री नयाँ वर्षको समयमा हुने गरेको छ । २ वर्ष अघिसम्म फागुन लागेसँगै नेपालमा नयाँ भेरियन्टका गाडी सार्वजनिक हुने गरेको थियोे । पछिल्लो २ वर्ष भने अटोमोबाइल क्षेत्रमा उत्साह देखिएको छैन ।

निजी सवारीको माग ह्वात्तै बढे पनि मागअनुसार आपूर्ति नहुँदा नयाँ वर्षमा उत्साह नदेखिएको नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका महासचिव सुनील रिजालले बताए । अघिल्लो वर्ष कोरोनाका कारण रोकिएको व्यापारले अहिले गति लिन थालेकोक छ । बैंकमा तरलता देखिएका कारण अटोमोबाइल क्षेत्रमा उत्साह देखिएको छ ।

तर, आपूर्ति प्रभावका कारण समग्र रूपमा उत्साहजनक नदेखिएको उनले बताए । ‘कम आयात भएरै धेरै माग जस्तो देखिएको मात्र हो,’ उनले भने, ‘अर्थतन्त्र चलायमान भएर सवारीसाधनको माग ह्वात्तै बढेको भन्ने होइन ।’

कोरोनापछि सार्वजनिक यातायातभन्दा निजी सवारीमा आकर्षण बढेको व्यवसायीहरूको भनाइ छ । कोरोना शुरू भएयता नेपालमा सार्वजनिक बसको माग नै नभएर विक्री ठप्पै भएको व्यवसायीहरू बताउँछन् । यातायात व्यवसायीहरूले अहिले लामो दूरीको यातायात आधाभन्दा बढी घटाएको बताउँदै आएका छन् । कोरोनाको जोखिमकै कारण सार्वजनिकभन्दा निजी सवारीतर्फ आकर्षण बढेको नाडाका महासचिव रिजालको भनाइ छ ।

सुजुकी, टाटा, महिन्द्रा, ह्युन्दे, कियालगायत गाडीको माग उच्च रहेकोमा तिनको आपूर्ति समयमै गर्न नसकिएको व्यवसायीहरू बताउँछन् ।

नयाँ वर्षमा पुराना बुकिङका गाडीहरू डेलिभरी हुने गरेकोमा क्रमशः बुकिङका गाडीहरू आउन थालेको नाडाका सचिव एवं नारायणी अटो मोबाइल्सका सञ्चालक अनुपकुमार बरालले बताए ।आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्