Logo

सामुदायिक वनका उपभोक्तालाई बीमा सुविधा



काठमाडौं, वैशाख ६ । सामुदायिक वनका उपभोक्ताले डढेलो र जनावरबाट आक्रमणबापत बीमा सुविधा पाउने भएका छन् ।नेपालको नमुनाका रूपमा रहेको २२ हजार ४१५ सामुदायिक वन उपभोक्ता समूहसँग आबद्ध रहेका डेढ करोड उपभोक्ताले बीमाको सुविधा पाउने भएका हुन् ।

यो सङ्ख्या भनेको नेपालको कूल जनसङ्ख्याको झण्डै आधा जनसङ्ख्या हो । यीमध्ये ११ सयवटा सामुदायिक वन महिलाको स्वामित्वमा रहेका छन् । वन संरक्षण गरेर विश्व र देशकै वातावरण संरक्षणमा टेवा पु-याएर योगदान दिइरहेका उपभोक्ताको जीवन रक्षा र उपचारका लागि बीमा कार्यक्रम लागू गरिएको सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष भारती पाठकले जानकारी दिएकी छन् ।

बीमा कार्यक्रमले उपभोक्तालाई सुरक्षाको अनुभूतिसँगै घटना भइहालेमा तत्काल राहत उपलब्ध गराउन सकिने अवस्था सिर्जना गरेको छ । बीमा कार्यक्रमले उपभोक्तालाई वन संरक्षणमा थप एकजुट हुन ऊर्जा थपेको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ र हरियो वन कार्यक्रमको संयुक्त पहलमा सञ्चालनमा रहेको बीमा परियोजनाअन्तर्गत देशका ७७ जिल्लामा विस्तारको क्रममा रहेको छ ।

बीमा कार्यक्रम २०७४ सालदेखि सुरु भए पनि बीमा र बिमकबीचको दूरी र अन्योलका कारण उपभोक्ताले राम्ररी लाभ लिन पाएका थिएनन् । तर २०७७ सालदेखि भने बीमा कार्यक्रमबाट लाभ लिने उपभोक्ताको सङ्ख्या बढ्दै गएको थियो । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्