Logo

हुम्लामा ६० मुद्दाको फैसला



हुम्ला, ६ बैशाख । जिल्ला अदालत हुम्लाले चालू आर्थिक वर्षको हालसम्म ६० मुद्दाको फैसला गरेको छ । अदालतका अनुसार अघिल्लो आवको सरेको र यस वर्षको नयाँ दर्ता गरी चालू आवमा हालसम्म कूल ११४ मुद्दा दर्ता भएको बताइएको छ ।

अघिल्लो आवमा सरेर आएको मुद्दा सङ्ख्या ६१ छ । चालू आवमा नयाँ ५३ वटा गरेर अदातलतमा दर्ता भएका ११४ मुद्दामध्ये ६० वटा फछ्र्योट भइसकेको जिल्ला अदालत हुम्लाका स्रेस्तेदार मदनराज भट्टराईले बताए । देवानीतर्फ जिम्मेवारी सरेको २७, नयाँ दर्ता भएका २५ गरेर जम्मा ५२ मध्ये ३० वटा फछ्र्योट भएका छन् भने २२ वटा फैसला हुन बाँकी रहेका छन् ।

सरकारवादी मुद्दा जिम्मेवारी सरेका २६, नयाँ दर्ता भएका १५ गरेर जम्मा ४१ वटा मुद्दामध्ये १७ वटा फछ्र्योट भएका छन् भने २४ वटा मुद्दा बाँकी रहेको स्रेस्तेदार भट्टराईले बताए । फौजदारीतर्फ जिम्मेवारी सरेका आठ, नयाँ दर्ता १० गरेर १८ मध्ये १३ वटा फैसला भएको र पाँच वटा मुद्दा बाँकी रहेका छन् । यस्तै पुनरावेदनमा नयाँ दर्ता भएका तीनवटै मुद्दाको फैसला हुन बाँकी छ ।

जिल्ला अदालत हुम्लाले तीन वर्षको औसतमा दर्ता भएका मुद्दाका आधारमा हालसम्म ६८ दशमलव चार प्रतिशत मुद्दा फैसला गरेको जानकारी दिएको छ । यस्तै जिल्ला अदालत हुम्लामा आठ वटा बालबालिकासम्बन्धी मुद्दा दर्ता भएको थियो भने यसमध्ये चार वटा फैसला भइसकेको छ भने बालबालिकाको सङ्ख्या ११ वटा रहेको छ । यस्तै दुई जना बालबालिकालाई सुधार केन्द्रमा राखिएकोसमेत बताइएको छ । यस्तै ज्येष्ठ नागरिकसम्बन्धी कुनै पनि मुद्दा नपरेको जिल्ला अदालत हुम्लाले जानकारी दिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्