Logo

पाटन माध्यमिक विद्यालयको पुनःनिर्माण सम्पन्न



ललितपुर, ६ बैशाख । छ वर्षअघिको गोरखा भूकम्पले क्षतिग्रस्त ललितपुर महानगरपालिकास्थित पाटन माध्यमिक विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । जापान सरकारको ऋण सहयोगमा पुनःनिर्मित विद्यालय भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गरे। कार्यक्रमलाई सम्बोधन गर्दै उनले राणा शासनकालमा निर्माण भएको विद्यालय भवन भत्किएर पुनःनिर्माण हुँदा दुई शताब्दीलाई जोड्ने काम भएको बताए। विकास र समृद्धिको सपनालाई पूरा गर्न यस्ता शैक्षिक केन्द्रले सहयोग गर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सामुदायिक र संस्थागत दुवै शैक्षिक संस्थाको केन्द्रका रुपमा महानगरपालिका स्थापित भएको बताए । आकर्षकरुपमा पुनःनिर्माण भएको विद्यालय भवनमा शैक्षिक गुणस्तर पनि त्यसैअनुरुप हुनुपर्ने उनको भनाइ थियो ।

सो अवसरमा जाइकाका नेपाल प्रमुख आशाकुमा युनिका, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रमान महर्जन र प्रधानाध्यापक ईश्वरमान बज्राचार्यले विद्यालयको गुणस्तर सुधार गर्न लागिपर्ने प्रतिबद्धता जनाएका थिए। विसं १९८१ मा स्थापना भएको विद्यालयको भवन दुई वर्षपछि १९८३ सालमा निर्माण भएको जानकारी सो अवसरमा गराइएको थियो । यो भवन विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको थियो ।

जापान सरकारको रु १६ करोड ऋण सहयोगमा पुनःनिर्माण भएको विद्यालयमा २७ कक्षाकोठा छन् । विद्यालयमा प्रयोगशाला, पुस्तकालय, कम्प्युटर, अध्यापक एवं प्रधानाध्यापक कक्ष, प्रशासन, कार्यालय, महिला र पुरुषका लागि अलगअलग शौचालय जस्ता संरचनासमेत निर्माण भएको छ । अशक्त र कर्मचारीका लागि विद्यालयमा छुट्टै कक्षको समेत व्यवस्था गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्