Logo

उच्च सतर्कता अपनाउन राष्ट्र बैंकको निर्देशन



काठमाडौं, बैशाख ७ । कोभिड–१९ को संक्रमणको दोस्रो लहर फैलँदै गएकाले उच्च सतर्कतासहित निरन्तर सेवा दिन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले सोमवार सूचना जारी गर्दै संक्रमण तीव्र बढेकाले सजग भएर कारोबार गर्न निर्देशन दिएको हो ।

नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवाप्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई कम गर्न निर्देशन दिइएको छ । सेवाग्राहीको भीडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्थालाई सेवाप्रवाह गर्न भनिएको छ । बैंक तथा वित्तीय संस्थाहरूले प्रदान गर्ने सेवाहरू यथा सम्भव विद्युतीय माध्यमबाट गर्न तथा गराउन केन्द्रीय बैंकले सुझाव दिएको छ ।

बैंकहरूले आफ्ना एटीएम बुथहरूबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राखी स्यानिटाइजर एवं टिस्यू पेपरको व्यवस्था गर्न पनि भनिएको छ । बैंकहरूले गर्ने बैठक, गोष्ठी, सेमिनार, तालीम जस्ता कार्यक्रमहरूमा भौतिक दूरी सुनिश्चित गर्ने तथा सम्भव भएसम्म भर्चुअल गर्न भनिएको छ । आवश्यकताका आधारमा रिमोट एक्सेस, वर्क फ्रमहोम, सिफ्टअनुसार काम गर्नेलगायतका उपाय अवलम्बन गर्न पनि राष्ट्र बैंकको सुझाव छ ।

कैंकहरूले कोभिड–१९ सम्बन्धी समस्याको सहजीकरण र सम्पर्कका लागि कोभिड–१९ सुरक्षा व्यवस्थापन समूहलाई सक्रिय रूपमा परिचालन गर्नुपर्ने छ । आर्थिक अभियान दैनिकबाट

 



प्रतिक्रिया दिनुहोस्