काठमाडौं, बैशाख ७ । पुनःस्थापित प्रतिनिधिसभाले काम नै गर्न नपाई सातौं अधिवेशन अन्त्य भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चालू अधिवेशन सोमबार नै अन्त्य गरेकी हुन्। प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाबीच देखिएको विवादका कारण महत्वपूर्ण विधेयकमाथि छलफल नै नभई अधिवेशन अन्त्य भएको हो ।
फागुन ११ गते विघटित प्रतिनिधिसभा पुनःस्थापित भएपछि सरकारले प्रतिनिधिसभाको सातौं अधिवेशन फागुन २३ गतेका लागि बोलाएको थियो । पुनःस्थापित संसद् ४४ दिन सञ्चालन गरेर सरकारले बिजनेस नै नदिई सोमबार अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । राजनीतिक दलहरूबीच सत्ता समीकरणका लागि दौडधुप चलिरहेका बेला सरकारले भने संसद्को अधिवेशन नै अन्त्य गरेको छ ।
सांसदहरूले जनताको सार्वभौमसत्ता सम्पन्न संसद् बैठकलाई प्रभावकारी बनाउनुपर्ने आवाज उठाए पनि विधेयक अधिवेशन अवधिमा समेत संसद् सचिवालयमा थन्किएर बसेका महत्वपूर्ण विधेयकले संसद्मा प्रवेश नै पाएन । कार्यपालिका र व्यवस्थापिकाबीच देखिएको अन्तरविरोधका कारण बैठकले कुनै पनि महत्वपूर्ण निर्णय गर्न सकेन ।
सरकारले यस अधिवेशनबाट अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गराउन चाहेको छ । तर, सभामुख अग्नि सापकोटाले उक्त विषय अगाडि बढाउन नचाहेपछि प्रधानमन्त्री ओली रुष्ट हुनुभएको थियो । सरकारले संसद्लाई ‘बिजनेस’ नदिँदा पटक–पटक बसेको संसद् बैठक सरकारको बचाउ र विरोधमा तथा आरोप–प्रत्यारोपमै सीमित हुन पुग्यो ।
हिउँदे अधिवेशनमा अघिल्ला अधिवेशनबाट विभिन्न चरणमा रहेका ३६ विधेयक प्राप्त भएका थिए । संघीय निजामती सेवा विधेयक र नागरिकतासम्बन्धी विधेयकलाई निकै महत्वपूर्णरूपमा लिइएको थियो । यस अधिवेशनबाट उक्त दुई विधेयक पारित हुने अपेक्षा पनि गरिएको थियो । तर, एउटा पनि विधेयक पेस नभई बैठक अन्त्य भएको छ । नेपाल समाचारपत्र दैनिकबाट
े