Logo

संसद् अन्त्य गरेर सरकारले स्वेच्छाचारी प्रवृत्ति देखायो: कांग्रेस



काठमाडौं, बैशाख ७ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक हठाहत अन्त्य गरेर सरकारले स्वेच्छाचारी प्रवृति प्रर्दशन गरेको ठहर गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समितिको बैठकले जनसरोकारका कयौं विषयमा छलफल गर्न छाडेर बैठक अप्रत्यासित रूपमा अन्त्य गरेको आरोप लगाएको हो।

‘वैशाख ७ गते बैठक बस्ने निर्धारित कार्यक्रम र छलफल गर्नुपर्ने जनसरोकारका कयौं महत्वपूर्ण विषय विद्यमान भएको अवस्थामा त्यसलाई नजरअन्दाज गरेर संसदबाट भाग्ने काम लोकतान्त्रिक मूल्य, मान्यता र संसदीय पद्धति बर्खिलाप रहेको ठहर बैठकले गरेको छ,’ कांग्रेसले भनेको छ, ‘बैठक सरकारको स्वेच्छाचारी प्रवृत्तिको घोर भत्र्सना गर्दछ।’

कांग्रेसले कोरोनाबाट जनताको सुरक्षा विशेष कार्ययोजना तत्काल निर्माण गर्न सरकारसँग माग गरेको छ। सरकार जनताको जनस्वास्थ्यप्रति गम्भीर नदेखिएको आरोप लगाउँदै बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्व बजारमा उपलब्ध भइसकेको भ्याक्सिन पर्याप्त रूपले आयात गरेर ‘हरेक नागरिकलाई भ्याक्सिन, हरेक नागरिकको सुरक्षा’ को व्यापक र दु्रत अभियान संचालन गर्न बैठकले सरकार समक्ष जोडदार माग गर्दछ।’

कोरोनाबाट जोगिन सर्तकताका साथ सुरक्षाका रणनीतिहरू अनिवार्य रूपले पालना गर्न आम जनतालाई समेत कांग्रेसले अपिल गरेको छ। कांग्रेस बैठकले वैशाख १५ गतेभित्र क्रियाशील सदस्यता नवीकरण र वितरण गर्ने अन्तिम समयसीमा तोकेको छ। केन्द्रीय समितिको बैठकले पछिल्लो पटक कार्यतालिका संशोधन गर्दै सदस्यता फारम भर्ने अन्तिम मिति वैशाख १५ गतेसम्मका लागि तोकेको हो। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्