Logo

ओलीसँग महन्थ, प्रचण्डसँग उपेन्द्र र बाबुरामको सहकार्य



काठमाडौं, ७ वैशाख । लुम्बिनी प्रदेशमा नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच सहकार्य देखिएको छ । हिजो लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा हस्ताक्षर गर्ने ३ र अर्का एक गरी ४ सासद नै मन्त्रीको सपथ खान पुगेपछि यस्तो सहकार्य देखिएको हो ।

अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईको निर्देशनमा अविश्वासको प्रस्तावको पक्षमा गएकाहरु मन्त्री खान पुग्नुमा केन्द्रबाट अर्का अध्यक्ष महन्थ ठाकुरको निर्देशन नै देखिएको छ । ठाकुर ओलीसँग सहकार्यको पक्षमा देखिदै आएका थिए ।

लुम्बिनीमा ओली ठाकुर सहकार्यले केन्द्रमा समेत तरंग ल्याएको छ । ठाकुरको निर्देशनमा ४ जना मन्त्री बनेपनि उनीहरुविरुद्ध कारबाही बढेको छ । २४ घन्टे अल्टिमेटम दिइएको र चित्तबुझ्दो जवाफ नआए सांसदबाट नै बर्खास्तीको निर्णय लिने तयारी उपेन्द्र यादव समूहले गरेको छ ।

जनता समाजवादी पार्टी नेपालका लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोक कुमार यादवले प्रेस विज्ञप्तिमार्फत् विजय बहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साल समेतले पार्टी निर्णय विपरित काम गरेकाले निलम्बन गरिएको छ । स्पष्टिकरण सोधिएकोमा चित्तबुझ्दो जवाफ नआएमा संसद पद नरहने गरी कारबाही प्रक्रिया अबलम्बन गरिने विज्ञप्तिमा उल्लेख छ ।

यसअघि जसपा संसदीय दलको नेता सहशराम यादवको अध्यक्षतामा बैठक बसी बहुमतबाट निर्णय भई अविश्वासको प्रस्ताव समेत दर्ता गरेको थियो । त्यसविपरित जसपाका ४ सांसद गएका थिए ।

यसैगरी, पार्टीको निर्णय विपरित ४ प्रदेश सांसद यु टर्न भएपछि उपेन्द्र यादव र डा. बाबुराम भट्टराईलाई धक्का लागेको छ । यसको असर केन्द्रमा ओलीविरुद्ध बन्न लागेको समिकरणमा पनि परेको छ । अब जसपाको एउटा पक्ष ओलीसँग सहकार्य गर्नेतर्फ बढेको छ । यसले जसपाको आन्तरिक राजनीतिमा तरंग ल्याएको छ । जसपालाई फुटको संघारमा पुर्याएको छ ।

जसपाका नेताहरु उपेन्द्र यादव र बाबुराम भट्टराई प्रचण्डसँग सहकार्यको पक्षमा उभिएका छन् । उनीहरुले विभिन्न प्रदेशहरुमा सहकार्य शुरु गरिसकेका छन् । लुम्बिनीमा प्रचण्डसँग उपेन्द्र र बाबुरामको सहकार्य देखिइसकेको छ । केन्द्रमा पनि सहकार्य चलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्