पाँचथर, बैशाख ८। पाँचथर र तेह्रथुम जिल्लालाई जोड्ने, तमोर नदीको लुमुघाटमा मोटरेवल पुल निर्माणको काम सुरु भएको एक दशक बित्यो । तर, हालसम्ममा कामको प्रगति भने ६० प्रतिशत मात्र देखिएको छ । दुई वर्षमा सम्पन्न गर्नुपर्ने पुलको काम एक दशकमा पनि पूरा हुन नसकेको हो ।
समयमै पुल नबन्दा मोटरगाडिबाट तमोर वारि–पारि गर्ने स्थानीयको सपना पनि पूरा हुन सकेको छैन । दक्षिण पश्चिमी पाँचथरको कुम्मायक र तुम्बेवा गाउँपालिकाको तल्लो क्षेत्रका स्थानीयको प्रमुख बजार तेह्रथुम सदरमुकाम म्याङ्लुङ र छथर गाउँपालिकाको केन्द्र शुक्रबारे हो ।
जिल्ला सदरमुकाम फिदिम टाढा पर्छ । स्थानीय उपज बिक्री गर्न र आवश्यक किनमेल गर्न छिमेकी जिल्लाको बजार पुग्नुपर्ने त्यहाँको बाध्यता हो । पाँचथरबाट तेह्रथुम जान तमोर नदी तर्नुपर्छ । त्यसैले अन्तरजिल्ला आवतजावत गर्न सहज होस भनेर लुमुघाटमा मोटरेवल पुल निर्माणको काम अघि बढाइएको हो ।
तर, २०६९ सालमा निर्माणकार्य सुरु हुँदा दुई बर्षमा बनिसक्छ भनिएको पुल अहिलेसम्म पनि नबन्दा स्थानीयबासीले लुमुघाटबाट तमोर तर्न २०३५ सालमा बनेको झोलुङ्गे पुलकै सहारा लिनुपरेको छ ।
वारि–पारि दुबैतिर सडक पुगेको छ । तर, बीचको तमोर नदीमाथि पुल बनिनसक्दा स्थानीयले सास्ती खेप्नु परेको कुम्मायक–५, स्याबरुम्बाका भैरब बहादुर बुढाथोकीले बताए । कामले म्याङ्लुङ वा शुक्रबारे बजार जाँदा झोलुङ्गे पुल तरेर जाने उनले छेउमै बन्दै गरेको मोटरेवल पुललाई टुलुटुलु हेर्दै बाटो काटेको दश वर्ष भयो । तर, अझै पुल नबनेको उनले गुनासो गरे । राजधानी दैनिकबाट