काठमाडौं, बैशाख ८ । दैनिक उपभोग्य वस्तुको ढुवानीमा ट्राफिक प्रहरीका कारण अवरोध उत्पन्न भएको छ । अवरोधका कारण करीब १ महीनादेखि दैनिक उपभोग्य वस्तुको ढुवानी सहज हुन नसकेको र आपूर्ति व्यवस्था प्रभावित भएको बताइएको छ ।
गतवर्षको चैतमा बन्दाबन्दी शुरू भएपछि दाल, चामल, तरकारी, दूध, माछा, मासुलगायत दैनिक उपभोग्य वस्तुको ढुवानीका गाडीलाई बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म निर्बाध चल्न दिइएको थियो । अहिले करीब १ महीनादेखि ट्राफिक प्रहरीले बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र चल्न दिएकाले सामान ढुवानीमा समस्या उत्पन्न भएको नेपाल वितरक संघका अध्यक्ष दुर्गाराज श्रेष्ठले बताए ।
‘उपभोग्य वस्तु ढुवानीका गाडीमा विनाकारण यसरी अवरोध गर्नु राम्रो कुरा होइन । यसले उपभोक्तामाथि अन्याय भएको छ,’ उनले भने ।
बाटोमा ट्राफिक जाम बढेको भन्दै ट्राफिक प्रहरीले ढुवानीका ठूला गाडी चल्न दिएको छैन, जसले गर्दा ढुवानी व्यवसायीहरू साना गाडीमार्फत सामान ढुवानी गर्न बाध्य छन् । सानो गाडीमा सामान कम अटाउने हुँदा धेरैओटा गाडी र कामदार पनि थप्नुपरेकाले लागत ५ देखि १० प्रतिशतसम्म बढिरहेको छ ।
लागत बढ्दा त्यसको असर सामानको मूल्यमा पर्ने भएकाले सामान पनि महँगो पर्नजाने ढुवानी व्यवसायीको भनाइ छ ।
आपूर्ति व्यवस्था सहज बनाउन लाग्नुपर्ने वाणिज्य विभागसमेत ट्राफिक प्रहरीका कारण ढुवानीमा अवरोध भएको विषयका बारेमा मौन रहेको छ । विभागले यो विषय यातायात व्यवस्था विभाग र ट्राफिक व्यवस्थापनको जिम्मा भएको भन्दै पन्छिन खोजेको छ । आर्थिक अभियान दैनिकबाट