Logo

यसकारण माधव नेपालले एमाले फुटाउँदैनन्



काठमाडौं, ८ वैशाख । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनालसहित २७ जना प्रतिनिधि सभाका सांसदलाई पदमुक्त गर्ने प्रक्रिया बढाइसकेका छन् । उनीहरुविरुद्ध पार्टी विधानविरुद्ध गएको भन्दै स्पष्टिकरण सोधिएको छ । उपयुक्त जवाफ नआए सांसदबाट पदमुक्त गर्ने तयारी छ ।

ओलीले आफूविरुद्ध अविश्वासको प्रस्ताव आउँदा सम्भावित फ्लोर क्रस गर्न सक्नेहरुलाई सांसदबाट हटाउन खोजेका हुन् । तर, माधव नेपाल र झलनाथ खनाल समूहले सांसदबाट हटाउन खोजे अदालत जाने तयारी समेत गरेका छन् । दल त्याग नगरेको अवस्थाका अलावक केही निश्चित कारणबाहेकमा कुनैपनि दलले सासदलाई पदमुक्त गर्न पाउँदैन ।

सांसदबाट राजीनामा दिएको अवस्था, दल त्याग गरेको अवस्था, सदनलाई सूचना नदिई लगातार दश वटा बैठकमा अनुपस्थित रहेको अवस्था या मृत्यु भएको अवस्थामा मात्र सांसद पदबाट मुक्त हुने व्यवस्था छ । यी अवस्था नरहेमा सांसद पदबाट मुक्त गर्न संविधानले दिदैन ।

ओलीले सांसदबाट हटाउन खोजेपछि माधव नेपालले यी कुनैपनि अवस्था सृजना गर्न दिएका छैनन् । उनले नेकपा एमाले परित्याग गरेका छैनन् । उक्त दलबाट निलम्बन मात्र गरिएको छ ।

संविधानको धारा ८९ मा स्पष्ट रुपमा संघीय संसद सदस्यको स्थान रिक्त हुने ६ वटा प्रावधान राखिएको छ । त्यसको ख मा धारा ८७ बमोजिमको योग्यता नभएमा वा नरहेमा सांसद पद रिक्त हुने व्यवस्था पनि छ । धारा ८७ ले ५ वटा उपधारा राखेर सांसद हुने योग्यता उल्लेख गरेको छ । योबाहेकको अवस्थामा सांसद पद रिक्त हुन्छ । माधव नेपालसहित २७ जना नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय पाएको, लाभको पदमा बहाल रहेको अवस्था छैन । यसकारण पनि उनीहरुको सांसद पद रिक्त हुने कानुन कमजोर छ । यसैका आधारमा नेपाल पक्षले ओलीको कदमको सामना गर्ने देखिन्छ ।

२७ जनालाई सांसद पदबाट मुक्त गर्ने निर्णय लिएर सभामुखलाई पत्र लेखी पठाएमा पनि संविधान अनुसार हटाउन मिल्दैन । सभामुख अग्निप्रसाद सापकोटालाई २७ जनालाई पार्टीले लेखी पठाएकै आधारमा सांसद पदबाट हटाउन नमिल्ने अवस्थाबीच अर्को चुनौती सृजना हुन सक्छ ।

आफूहरुलाई सांसदबाट हटाउन मिल्ने कुनैपनि कानुनी आधार तयार गरिदिने पक्षमा माधव नेपाल समूह छैन । बरु उनीहरु एमालेमै रहेर संघर्ष गरिरहने रणनीतिमा देखिन्छन् । समानान्तर कमिटी बनाएका छन् । दल त्याग गरेको घोषणा र कानुनी रुपमा नयाँ दल दर्ता गरेको अवस्था पनि छैन ।

प्रतिनिधि सभा नरहेर नयाँ चुनावमा गएको अवस्थामा भने फरक परिस्थिति आउन सक्छ । त्यतिबेला माधव नेपालले कि त एमालेमा आफ्नो पकड कायम गर्ने रणनीति बनाउने देखिन्छ कि त प्रचण्डसँग मिलेर एकीकृत कम्युनिस्ट पार्टी गठन गर्ने देखिन्छ । तत्काल माधव नेपालले एमाले फुटाउने सम्भावना कमजोर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot