Logo

शान्ति पार्कलाई धार्मिक पर्यटकीय स्थल बनाइने



तनहुँ, ८ बैशाख । व्यास नगरपालिका–४ स्थित शान्ति पार्कलाई धार्मिक पर्यटकीय स्थल बनाउन प्रयास थालिएको छ । एक सय नयाँ पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत शान्ति पार्कलाई धार्मिक पर्यटकीय स्थल बनाउन लागिएको हो ।

पार्कभित्र मल्लकालीन प्यागोडा शैलीको मन्दिर निर्माण गरिएको छ । रु तीन करोड लागतमा निर्माण सम्पन्न भएको मन्दिरको चैतेदशैंको अवसर पारेर उद्घाटन गरिएको छ । दुई वर्ष अगाडिदेखि निर्माण शुरु भएको मन्दिर गत वर्ष सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिडका कारण बन्दाबन्दी हुँदा मन्दिर निर्माणको काम केही समय प्रभावित भएको थियो ।

शान्ति पार्कका कोषाध्यक्ष एकबहादुर रानाले कोभिडका कारण मन्दिर निर्माणमा ढिलाइ भएको जानकारी दिए । “यस ठाउँलाई धार्मिक पर्यटकीय स्थल बनाउन मन्दिरका साथै अन्य थप पूर्वाधार पनि निर्माण गर्ने योजना छ,” रानाले भने, “सङ्घ, प्रदेश र स्थानीय सरकारको सहयोगमा थप पूर्वाधार निर्माण गर्छौ ।”

तीनतले र ५५ फिट उचाइको मन्दिरमा विभिन्न नामका देवीदेवताका आकृति भएको ६० वटा टुडाल हालिएको छ भने मन्दिरमा नौ फिट उचाइको गजुर राखिएको छ । मन्दिर निर्माणका लागि चालु आर्थिक वर्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट रु ५० लाख बजेट विनियोजन भएको थियो ।

व्यास नगरपालिकाले विनियोजन गरेको रु १० लाख र उपभोक्ता समितिको समेत गरी रु १२ लाखको लागतमा पार्कभित्र सार्वजनिक शौचालय, वडा नं ४ मार्फत् विनियोजन भएको रु १० लाखको लागतमा ८० मिटर बाटो ढलान र ४० मिटर नाला निर्माण सम्पन्न भएको छ । पार्कले चालु आर्थिक वर्षमा नै मन्दिर वरपर पर्खाल निर्माण गर्ने जनाएको छ ।

दमौली बजारबाट एक किलोमिटर दूरीमा पर्ने पार्कभित्र सरकार, निजी क्षेत्र र स्थानीयवासीको सहयोगमा केही पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ भने गुरुयोजना अनुसारको थप पूर्वाधार निर्माण हुन बाँकी रहेको पार्कका अध्यक्ष मोतीकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार पार्कलाई गुरुयोजना अनुसार विकास गर्न रु पाँच करोडभन्दा बढी बजेट आवश्यक पर्दछ ।

सैँतीस हेक्टर क्षेत्रफलमा काँडे तारवार, १० फिट चौडाइको १ किमि पक्की सिंढी निर्माण, दुई वटा वनभोज स्थल, एउटा कुरुवा घर, सार्वजनिक शौचालय निर्माण सम्पन्न भइसकेको छ भने रिजर्भ ट्याङ्की बनाएर खानेपानीको व्यवस्थापन गरिएको छ । पार्क स्थापना भएदेखि हालसम्म पूर्वाधार निर्माणमा रु २ करोड ६९ ४२ हजार खर्च भएको छ भने रु दुई करोड १३ लाख १३ हजार ७ सय ५४ आम्दानी भएको थियो । कालिगढलाई रु ३७ लाख र विभिन्न व्यक्तिलाई सापटीबापतको रु १८ लाख फिर्ता दिन बाँकी रहेको पार्कले जनाएको छ ।

गुरुयोजनाअनुसार पार्कमा प्रवेशद्वार, टिकट काउण्टर, पार्किङस्थल, सहिद स्मारक पार्क, बालउद्यान, पानीको फोहोरा, सानो चिडियाघर, भ्युटावर, विश्रामस्थल लगायतका पूर्वाधार निर्माण हुन बाँकी छ ।

तनहुँको सदरमुकाम दमौली बजारस्थित पूर्व र उत्तरमा व्यासमार्ग, पश्चिममा मादीनदी र दक्षिणमा दमौली बजारभित्र पर्ने बागभञ्ज्याङ सामुदायिक वनको करीब आठ हेक्टर क्षेत्रफलभित्र तनहुँ कालिका शहीद शान्ति पार्क पर्दछ । यस ठाउँबाट दमौली बजारलगायत आसपासका वस्तीहरु, काहुँडाँडा, मानहुँडाँडा, तनहुँसुर, मिर्लुङकोट, गलेखामकोट लगायतका पर्यटकीय स्थलहरु अवलोकन गर्न सकिन्छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot