Logo

ओलीले सांसदबाट पदमुक्त गर्न लागेपछि नेपाल र खनालद्वारा अदालतमा रिट



काठमाडौं, ८ वैशाख । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनालसहित २७ सांसदलाई पदमुक्त गर्ने प्रक्रिया बढाएको भोलिपल्ट नयाँ घटना विकास भएको छ । ओलीको प्रयास विफल बनाउन नेपाल र खनालबाट रिट निवेदन सर्वोच्च अदालत पुगेको छ ।

खनाल नेपाल पक्षका कानुन व्यवसायीहरु वारेसनामामार्फत् रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालत पुगेका थिए । तर, आज रिट निवेदन दर्ता नभई प्रक्रियामा राखिएको छ ।

कानुन व्यवसायीहरु गोविन्द बन्दी, शम्भु थापा र टीकाराम भट्टराई वारेसनामा लिएर एमाले अध्यक्ष ओली, महासचिव इश्वर पोखरेल, निर्वाचन आयोग र सभामुखलाई विपक्षी बनाएर सिट निवेदन दर्ता गर्न पुगेका थिए । रिटमा ओलीले गैरकानुनी रुपमा निर्णय गरेको जिकिर गर्दै कार्यान्वयन नगर्न र रोक्न माग गरी उत्प्रेषण र प्रतिषेधको आदेश माग गरिएको छ ।

ओलीले ७ वैशाखमा माधवकुमार नेपाल र झलनाथ खनालसहित २७ जना सांसदहरुलाई पदमुक्त गर्ने प्रक्रिया बढाउन स्पष्टिकरण पत्र पठाएका थिए । सम्भावित अविश्वासको प्रस्ताव र फ्लोर क्रसलाई दृष्टिगत गरी ओलीले कारबाही अगाडि बढाएको चर्चा छ ।



प्रतिक्रिया दिनुहोस्