Logo

खपत घटे पनि कुखुराको मासुको मूल्यमा वृद्धि



काठमाडौं, बैशाख ९। खपत घटे पनि कुखुराको मासुको मूल्यमा भने वृद्धि भइरहेको छ । मन्त्रिपरिषद्को सोमवारको बैठकले कोरोना संक्रमण नियन्त्रण सम्बन्धी आदेश जारी गर्दै होटल, रेष्टुराँ, पार्टी प्यालेस सञ्चालनमा कडाइ गरेपछि मासुको खपत घटेको छ । तर यसको मूल्य वृद्धि भने रोकिएको छैन ।

सरकारले उक्त निर्णय गरेकै दोस्रो दिन मासु व्यवसायी संघले कुखुराको मासुको मूल्य प्रतिकिलो ४३० रुपैयाँ तोकेको छ । खपत घटे पनि कुखुराको उत्पादनमा ४० प्रतिशतले ह्रास आएकाले मासुको मूल्य वृद्धि भएको हो ।

एक महीना अघिसम्म प्रतिकिलो ३५० रुपैयाँ रहेको कुराको मासुको मूल्य त्यसयता ३७०, ३९० र ४१० हुँदै अहिले ४३० रुपैयाँ पुगेको छ । कुखुराको उत्पादन नबढे थोक बजारमै मासुको मूल्य प्रतिकिलो ४५० रुपैयाँसम्म पुग्न सक्ने व्यवसायी बताउँछन् । अहिले संघले तोकेको मूल्य प्रतिकिलो ४३० रुपैयाँ भए पनि खुद्रा बजारमा भने उपभोक्ताले प्रतिकिलो ४५० रुपैयाँ सम्म तिर्नुपरिरहेको छ । संघका अध्यक्ष जंगबहादर बिसीका अनुसार सरकारको निर्णयपछि काठमाडौं उपत्यकामा मासुको खपत करीब ३० प्रतिशतले घटेको छ । देशभर दैनिक ८ लाख किलो मासुको खपत हुन्छ । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्र ५ लाख किलो खपत हुने गरेको संघले बताएको छ ।

गतवर्ष लामो समयसम्म गरिएको बन्दाबन्दीको असरले ह्याचरी उद्योगले प्यारेन्ट चल्ला आयात गर्न नसक्दा उत्पादन घटेको छ । यही बेला कुखुराको दाना तथा औषधिको मूल्य पनि बढेको छ । त्यसको असर कुखुराको मासुको मूल्यमा परेको छ ।

नेपालको पोल्ट्री बजारमा सातामा ४२ लाख चल्लाको माग हुने गरेको भए पनि अहिले प्यारेन्टको अभावमा २८ लाख मात्र उत्पादन भइरहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्