काठमाडौं, ९ बैशाख । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूनिकट सांसदहरुसँग छलफल गरेका छन् । सत्ता समिकरणमा निर्णायक शक्ति बनेको जसपामा पनि यतिवेला दुई धार देखिएको छ । एउटा धारको नेतृत्व अध्यक्ष ठाकुरले गरेका छन् भने अर्को धारको नेतृत्व अर्का अध्यक्ष उपेन्द्र यादवले गरेका छन् । पछिल्लो समय अध्यक्ष ठाकुर भने प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नजिकिएका छन् । आफूहरुको माग पूरा ओली सरकारलाई सहयोग गर्ने ठाकुरको सार्वजनिक अभिव्यक्ति हुने गरेको छ । केही समय अघि पत्रकार ऋषि धमलासँग प्राइम टिभीको अन्तर्वार्तामा पनि उनले यस्तो सुनाएका थिए ।
आजमात्रै, अध्यक्ष ठाकुले आफूनिकट सांसदहरुको छुट्टै भेलाको आयोजना गरेका छन् । सिंहदरबारस्थित् पूर्व राजपाको कार्यालयमा भएको छलफलमा ठाकुले पछिल्लो राजनीतिक अवस्थाबारे आफ्नो धारणा राखेका थिए । छलफलमा सहभागी नेता तथा सांसद लक्ष्मणलाल कर्णकाअनुसार आजको बैठकमा १२ जना सांसद सहभागी थिए । उनकाअनुसार ठाकुरले प्रधानमन्त्री ओलीसँगको पछिल्लो वार्ता सकारात्मक रहेको ब्रिफिङ गरेका थिए । उनले आफूहरुले अघि सारेका माग सम्बोधन गर्ने सवालमा ओली सकारात्मक देखिएको पनि सांसदहरुलाई सुनाएका थिए ।
नेता कर्णले रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा भने,‘आज हामी छलफलमा जुटेका थियौं । अध्यक्षज्यूले सरकारसँग खासगरी प्रधानमन्त्रीजीसँग भएको पछिल्लो वार्ताबारे ब्रिफिङ गर्नुभयो । उहाँले वार्ता सकारात्मक रहेको सुनाउनुभएको छ । जे होस, वार्ता सन्तोषजनक छ ।’ तर, अध्यक्ष ठाकुरले माग पूरा गरेमात्रै ओलीलाई साथ दिने आफ्नो अडान सुनाएका थिए । माग पूरा नगरे सरकारलाई साथ नदिनेबारे पनि उनले सांसदहरुलाई ब्रिफिङ गरेका हुन् । File Photo/RN