Logo

अध्यक्ष ओलीसँगको भेटवार्ताबारे माधव नेपालले मुख खोले–‘उहाँ हिजोको सहमतिबाट पनि ब्याक हुनुभयो’



काठमाडौं, ९ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँगको आजको भेटवार्ता सकारात्मक नभएको प्रतिक्रिया दिएका छन् । ओलीसँगको भेटवार्ता सम्पन्न गरेर जनकपुर पुगेका नेता नेपालले पत्रकार ऋषि धमलासँग टेलिफोनमा भने–‘ओलीजी हिजोको सहमतिबाट आज ब्याक हुनुभयो । उहाँ र मबीच हिजो पार्टीभित्रको विवाद समाधान गर्नको लागि कार्यदल वा समिति बनाएर जानेबारे सहमति भएको थियो । तर, आजको भेटवार्तामा उहाँ त्यसबाट पनि ब्याक हुनुभयो ।’

काठमाडौंको मेरियट होटलमा हिजो र आज ओलीबीच भेटवार्ता भएको थियो । हिजोको भेटवार्ताले सहमति हुने कुरामा नेता नेपाल आशावादी थिए । तर, आजको भेटवार्ताले नेता नेपाल निराश बनेका छन् । उनले भने,‘हिजो कार्यदल वा समिति बनाएर जाऔं । अहिले देखिएका सबै समाधान खोज्नेबारे हिजो कुरा भएको थियो । तर, आज ओलीजी त्यसबाट पनि ब्याक हुनुभयो ।’

दुवै नेताले आ–आफ्नो अडान कायम राखेका छन् । नेता नेपालले फागुन २८ गतेको निर्णय खारेज र २०७५ जेठ २ गते पार्टीलाई फर्काउनुपर्ने अडान राखेका छन् । तर, ओलीले अब आफू त्यसबाट ब्याक हुन नसक्ने अडान लिएका छन् । अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता बिनानिश्कर्ष सम्पन्न भएपछि कार्यकर्ता पँक्तिमा पूनः निराशा छाएको छ । कतिपयले एमाले अब एक हुन नसक्ने टिप्पणी गरिरहेका छन् ।

तर, नेता नेपालले आफूहरु अहिलेपनि पार्टी एकताकै पक्षमा रहेको सुनाए । उनले अध्यक्ष ओलीले आफूहरुलाई पार्टी फुटाएर जाओस भन्ने चाहेको तर आफूहरु त्यसो नगर्ने पक्षमा रहेको पनि सुनाए । उनले भने,‘हामी पार्टीभित्रै संघर्ष गर्छौं । हामी फुटाउँदैनौं । एमालेलाई एक ढिक्का बनाउँछु । म त सहमतिको लागि धेरै लचिलो बन्छु । सहमति खोजौं भनेको थिएँ । उहाँ हिजोको सहमतिबाट पनि ब्याक हुनुभयो ।’ Photo By: Rajan Kafle/PM-Secretariat



प्रतिक्रिया दिनुहोस्