काठमाडौं, १० बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले जनकपुर पुगेर अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता किन भाँडियो ? भन्नेबारे जवाफ दिएका छन् । आज (शुक्रबार) जनकपुरमा आयोजित कार्यक्रममा पत्रकाहरुसँग संक्षिप्त कुरा गर्दै उनले अध्यक्ष ओलीले फोन गरेर भेट्नको लागि आग्रह गरेको सुनाए । उनले भने,‘उहाँले ल भेटौं भनेर फोन गर्नुभयो । उहाँले बालुवाटार बोलाउनुभयो । म जान्नँ भनें । उहाँले आफ्नो निजी निवास बालकोट बोलाउनुभयो । मैले त्यहाँ पनि जान्नँ भनें । त्यसपछि मैले भने पुष्पलाल प्रतिष्ठानमा आउनुहोस भनें । त्यहाँ त नगरौं भन्नुभयो । त्यसपछि मैले होटेल एभरेष्टमा आउनुहोस भनेको थिएँ, उहाँले त्यहाँ पनि नगरौं भन्नुभयो । उहाँले होटेल म्यारियटमा आउनुहोस भन्नुभयो । मैले ल ठिक भनें ।’
द्वन्द्व व्यवस्थापन गर्नुपर्यो भने दुवैलाई सुहाउँदो ठाउँको व्यवस्थापन गर्नुपर्ने पराष्ट्रको सिद्धान्तअनुसार नै आफूहरुले भेटेको र अहिले म बालुवाटार गएँ भने माधव नेपाल लुरुलुरु बालुवाटार गयो भन्ने सन्देश जाने सुनाउँदै आफू त्यहाँ नगएको सुनाए । उनले भने,‘मैले अरु नेताहरुलाई पनि लिएर आउँछु भनेको थिएँ । तर, उहाँले हुँदैन भन्नुभयो । मेरा साथीहरुले पनि एक्लै जानुहोस र कुरा गर्नुहोस भन्नुभयो । मलाई के डर थियो भने माधव नेपालले टाईम मागेर मसँग रोईरहेको थियो भनेर प्रचार भैदिएला । अस्ति भएको भेटमा अलि अलि, मैले भनेको थिएँ कि बालुवाटारको तेलबाट अब पेलेर तेल निस्किँदैन् भनेको थिएँ । नेताहरुले कोशिस गर्नु भनेकोले गएको थिएँ । अलिकति आशा जागेको थियो । मैले अहिले अध्यक्षबाट हटाउन खोजेको पनि होईन, प्रधानमन्त्रीबाट पनि हटाउन खोजेको होइन । हिजो बसेको थिएँ । बस्नुभन्दा अघि उहाँको बिहान प्रवचन सुनियो । यिनीहरुलाई तह लगाउँछु भन्नुभयो । उहाँको सोच नै माधव नेपालको हुर्मत लिन्छु भन्नुभएको रहेछ, यो सम्भव छ ? उहाँले जे निर्णय भएको छ, त्यही हुन्छ भन्नुभयो ।’
उनले आफूहरुलाई बैठक नबोलाउनुको कारण ओलीले मोवाई बिग्रिएको रहेछ भनेको उल्लेख गर्दै हाँस्दै भने–मोवाईल सबैको बिग्रिएको थियो होला त । यो गलत हो ।’ आफूनिकट जिल्ला अध्यक्षलाई हटाएको बारे जिज्ञासा राख्दा ओलीले भूमिका गलत खेलेकोले हटाएको सुनाए । केपी ओलीले आफूहरुलाई माने मान नमानको ढंगको दम्भ देखाएको सुनाए ।
नेता वामदेव गौतमले पनि ओलीसँग भेटेको र आफूलाई उक्त भेटबारे फोन र म्यासेजमार्फत सन्देश पठाएको पनि नेता नेपालले उल्लेख गरे । उनले भने,‘उहाँले मलाई ओलीसँगको हिजोको भेटबारे जानकारी गराउनुभयो । उहाँले भन्नुभएको थियो कि म पनि अन्तिम पटक कोशिस गरौं न त भनेर गएको थिएँ । पार्टी मिलाउने कुरामा भूमिका खेल्नुहोस र फागुन २८ गतेको निर्णय फिर्ता लिनुहोस भनेको थिएँ, ओलीले मानेनन भनेर सुनाउनुभयो ।’ आज विहानमात्रै नेता गौतमले आफूलाई फोन गरेको र बसेर छलफल गर्नुपर्ने प्रस्ताव राखेको सुनाए । उनले ओलीले पार्टी र आन्दोलनलाई सिध्याउन लागेको पनि वामदेवले आफूलाई सुनाएको जनाए ।
“केपी ओलीले माधव नेपाललाई सस्पेण्ड गर्ने ? कोअर्डिनेशन केन्द्र सुरु गर्दा, ०३१ सालमा सुरु गर्ने म माधव नेपाल । को के बनाउने म माधव नेपाल । ०३५ सालमा नेकपा एमाले बनाउने माधव नेपाल हो । यो माधव नेपालले पार्टी र आन्दोलन सञ्चालन गर्दै आएको छ । केपी ओलीको दम्भहरु धरहराभन्दा माथि । धरहरा हेरेर उहाँले दम्भ देखाउनुभएको थियो । हामी संघीयता त्याग्दैनौं । पार्टी छोड्दैनौं । आन्दोलन छोड्दैनौं ।”