Logo

हाम्रो माग पूरा होस् अनि हामी सरकारमा जानको लागि निणर्य गर्छौं : लक्ष्मणलाल कर्ण



जसपा नेपालका शीर्ष नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले सरकारले आफूहरुले अघि सारेका माग सम्बोधन गर्ने तयारी गरेको स्पष्ट पारेका छन् । उनले हिजो बसेको मन्त्रिपरिषद्को बैठकले आफूहरुका विभिन्न दश वटा मुद्दा फिर्ता लिने निर्णय गरेको पनि जानकारी दिए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । कुराकानीको क्रममा उनले भनेका छन्–‘मुद्दाहरु फिर्ता हुनेभयो । संविधान संसोधनको लागि पनि पछि आयोग गठन गर्ने भन्ने कुरा छ । नागरिकता विधेयकलाई पनि अगाडि बढाउने र पास गर्ने कुरा छ । यो सम्पुर्ण कुरा भईराखेको छ ।’ प्रस्तुत छ नेता कर्णसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

अहिलेसम्म सरकारसंग वार्ता गरिरहनुभएको छ ? के–के माग पुरा भए त ?

सरकारसामू हामीले अघि सारेका माग पुरा हुने क्रम जारी छ । हिजोको मन्त्रिपरिषद्ले विभिन्न दश वटा मुद्दा फिर्ता गरेको छ । जसमध्ये नौ वटा मुद्दा हाम्रो र एउटा विप्लव समूहको रहेका छन् ।

त्यसो भए तपाईंहरुको दश वटा मुद्दा फिर्ता भए त अब ?

दश ओटा मुद्दा फिर्ता भयो । बाँकी १४ वटा फिर्ता हुने प्रोसेसमा छन् । तयारी हुँदैछ । त्यो पनि आज/भोलिमा फिर्ता हुने विश्वास लिएका छौं ।

त्यसो भए अब मुद्दाहरु सबै फिर्ता हुनेभए, होईन ?

मुद्दाहरु फिर्ता हुनेभयो । संविधान संसोधनको लागि पनि पछि आयोग गठन गर्ने भन्ने कुरा छ । नागरिकता विधेयकलाई पनि अगाडि बढाउने र पास गर्ने कुरा छ । यो सम्पुर्ण कुरा भईराखेको छ ।

त्यसोभए नागरिकताको समस्या पनि समाधान हुन्छ ?

यहाँ नागरिकतामा राजनीति गर्ने त पार्टी नै खुलेका छन् । ती त नगरिकताविहीन जनताको दुःख नहेरेका मानिसहरु हुन्, तपाईँ त बुझ्नुहुन्छ । हामी त नागरिकताको सवालमा लडाई लड्दालड्दा आज करिब÷करिब तीस वर्ष भयो । आफ्नै देशका नागरिकलाई ठुलो विडम्बना छ । नागरिकताविहीन बनाएर राख्नु यो मानवअधिकारको उल्लंघन पनि हो । उनीहरुलाई मानव अधिकारबाट बञ्चित गर्नु हो । यसको लागि हामी लागेका छौँ । यो निश्चित् रूपबाट हुन्छ ।

उसो भए नागरिकता समस्या समाधान हुन्छ ?

निश्चित् रुपमा हुन्छ । सरकारले यो समस्या समाधानको लागि प्रतिवद्धता जनाईराखेको छ ।

यहाँहरुको माग पुरा हँुदै जाँदाखेरि तपाईँहरु सकारमा जाने सम्भावना के छ ?

माग पूरा होस् अनि हामी बस्छौँ । सरकारमा जानको लागि पार्टीको बैठक बस्छ अनि निणर्य गर्छ ।

जसपा सरकारमा जाने सम्भावना पनि छ होईन ?

पार्टी बसेर निणर्य गरेर जानसक्छ ।

हिजो महन्थ ठाकुरले तपाईँलगायत आफू पक्षधर सांसदहरुलाई बोलाउनुभएको थियो किन र के का लागि रहेछ ?

महन्थ ठाकुरले हिजो बोलाउनुभएको थियो । अस्ति जुन बालुवाटारमा हाम्रो प्रधानमन्त्रीसंग भेटघाट थियो । त्यो भेटघाटको मुख्य कारण नै के थियो भने प्रोग्रेस जुन हाम्रो माग हो, त्यो कहाँ ? र कसरी भईरहेको छ ? र, के प्रक्रियामा भईरहेको छ भन्ने कुराको छलफल थियो । त्यो कुराहरु सांसदहरुलाई अबगत गराउनको लागि भेटवार्ता राख्नुभएको थियो । यहाँ काठमाडौँमा अहिले जो उपस्थित सांसद हुनुहुन्थ्यो, उहाँहरुलाई अस्ति सिंहदरबारमा होईन बालुवाटारमा भएको बैठकको जानकारी गराउनुभयो त्यहाँ

तर, हिजोको बैठक अथवा छलफलमा जसपाका सांसदहरु त देखिएनन् नि त ? पुर्व राजपाका सांसदहरु मात्रै बोलाउनु भयो किन ?

हामीले हिजोको बैठकमा आउनको लागि सबैलाई खबर गरेका थियौं । तर, उपेन्द्रजीले मेरा साथीहरु धेरैजसो जिल्लातिर छन, अहिले आउने अवस्था छैन भन्ने जवाफ दिनुभएकोले जो साथी उपस्थित छन् उहाँहरुसंग अनौपचारिक रूपबाट भएको कारणले जानकारीको लागि मात्रै बसेका हौँ ।

त्यसोभए जसपा फुट्दैन ?

पार्टी कसरी फुट्छ ऋषिजी ? तपाईँजस्तो विद्धान अनि कानुन जान्ने मान्छे, हामीले पार्टी एकता गरेको त जम्मा एक वर्ष न भयो । हाम्रो पार्टी पाँच वर्ष फुट्न सक्दैन भन्ने कुरा विधानमा नै लेखेको छ । अहिले एक बर्षमात्रै भयो । अनि कसरी फुट्छ त? हाम्रो पार्टी कुनैपनि हालतमा फुट्दैन् ।

तपाईँहरु सरकारमा जाँदाखेरि पार्टी फट्ने हो कि ? उपेन्द्र यादव र बाबुराम भट्टराई त्यसको विपक्षमा हुनुहुन्छ नि त ?

कहाँ विपक्षमा ? उहाँहरुलाई नै लिएर जाउँला नि, अगाडि उहाँहरुलाई नै सारौँला ।

उहाँहरु सरकारमा नजाने अरे, बरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई ढाल्ने रे ?

त्यो अवस्था आउन दिनुहोस न उहाँहरुलाई राखेर निणर्य हुन्छ । यो निर्णय एकतर्फी हुँदैन् सबैजना बसेर निर्णय हुन्छ । पार्टी पंक्तिनै बस्छ । या संसदीय दल बस्ला या कार्यकारी समिति बस्ला कुनै न कुनै समिति या निकायबाट निर्णय भएर जान्छ ।

अब लकडाउनको सम्भावना छ कि छैन ? कोरोना त ह्वात्तै बढ्यो नि ?

कोरोनाको समस्या देखिएको छ । लकडाउन गर्नुहुँदैन् । नेपालमा लकडाउनको अवस्थामा जनताले जुन दुःख पाए, त्यो सबैलाई थाहा छ । खाना नपाएर भोकभोकै मरेका पनि छन् । । जनता खाना नपाएर क्वारेन्टिनमा बस्दापनि मरेका छन् । त्यसकारण जनता पनि अहिले केही न केही सचेत हुनुपर्ने देखिन्छ । सचेत गराउने उपायहरु सरकारले पनि अवलम्वन गर्नुपर्छ । विरगञ्जमा पनि केही उपायहरु भईरहेका रहेछन । वीरगञ्जमा अहिले बेडको कमि भईराखेको छ । अक्सिजनको कमि भईराखेको छ । त्यो अविलम्ब सरकारले पुर्याउनुपर्छ । अहिले एकैचोटी सरकारले लकडाउन गर्नुहुँदैन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot