Logo

ओलीले पार्टी विभाजनको खाता खोलेको माधव नेपाल पक्षको दाबी



काठमाडौं, १० बैशाख । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद चुलिएको छ । आज बसेको पार्टीको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक माधव नेपाल पक्षले बहिष्कार गरेको थियो । नेपाल पक्षबिनै बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णय लिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षबिनै स्थायी कमिटी विस्तार गर्नुभएको छ । उक्त कमिटीमा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका चार जना नेतालाई पनि ल्याईएको छ । तर, माधव नेपाल पक्षका कसैलाई पनि समेटेका छैनन् । बरु, वामदेव गौतमलाई भने सहभागी गराएका छन् ।

ओलीले आज चालेको कदम र लिएको निर्णयलाई नेपाल पक्षले ठाडै अस्विकार गरेको छ । उक्त पक्षले आजको बैठकलाई कथित बैठकको संज्ञा दिएको छ । माधव नेपाल पक्षधर नेता डा. भीम रावलले अध्यक्ष ओलीले नै पार्टी विभाजनको खाता खोलेको टिप्पणी गरेका छन् ।

आज (शुक्रबाुर) रिपोर्टर्स क्लब नेपालको विशेष साक्षात्कारमा बोल्दै रावलले यस्तो टिप्पणी गरेका हुन् । उनले ओलीका सबै कदम र निर्णयको विरोधमा आफुहरु रहेको र यसको डटेर सामना गर्ने पनि जिकिर गरे । अब कसरी अघि बढ्ने भन्नेबारे आफूहरु आन्तरिक छलफलमा जुटेको पनि उनले जानकारी दिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot