काठमाडौं, बैशाख ११ । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्यको कार्यविभाजन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको आयोजक कमिटीको बैठकले २ सय ६५ सदस्यको कार्यविभाजन गरेको हो । नेताहरू विष्णु पौडेल, शंकर पोखरेल र टोपबहादुर रायमाझी रहेको कार्यदलको सुझावका आधारमा नेताहरूलाई जिम्मेवारी बाँडफाँड गरिएको छ ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रदीप ज्ञवालीका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टी स्कुल विभाग प्रमुख, महासचिव ईश्वर पोखरेल केन्द्रीय कार्यालय प्रमुख र सहइन्चार्ज उपत्यका विशेष कमिटी, विष्णुप्रसाद पौडेललाई संगठन विभाग प्रमुख र अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट एमालेमा प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापालाई बागमती प्रदेशको इन्चार्ज र राष्ट्रिय सुरक्षा प्रवद्र्धन विभागको प्रमुख, उद्योगमन्त्री लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीसँगै उद्योग तथा वाणिज्य विभाग प्रमुख, नेपाल उद्योग व्यवसाय महासंघको इन्चार्जको जिम्मेवारी दिइएको छ ।
सहरी विकासमन्त्री प्रभु साहलाई सहरी विकास विभागको प्रमुख, पेसागत महासंघ नेपालको इन्चार्ज र नेपाल बुद्धिजीवी परिषद् इन्चार्ज तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई मोर्चा संगठन इन्चार्जको जिम्मेवारी दिइएको छ ।
परराष्ट्रमन्त्रीसमेत रहेका प्रदीप ज्ञवाली प्रचार तथा प्रकाशन विभाग प्रमुख, सुभास नेम्वाङ प्रदेश नम्बर १ को इन्चार्ज र संसदीय विभाग प्रमुख, डा राजन भट्टराई विदेश विभाग प्रमुख र प्रवास क्षेत्र इन्चार्ज, विष्णु रिजाललाई विदेश विभाग उपप्रमुख, अग्निप्रसाद खरेल निर्वाचन विभाग प्रमुख र विष्णु रिमाललाई आर्थिक विभाग प्रमुख तथा नेपाल ट्रेड युनियन महासंघ इन्चार्जको जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रहेका सूर्य थापा प्रचार तथा प्रकाशन विभाग उपप्रमुख र प्रेस चौतारी नेपालको इन्चार्जको जिम्मेवारी पाएका छन् । यसअघि प्रेस चौतारीको इन्चार्ज रहेका राजेन्द्र गौतम प्रदेश नम्बर १ को सहइन्चार्जको जिम्मेवारी दिइएको छ ।
वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका नेताहरूलाई कुनै जिम्मेवारी दिइएको छैन । उपाध्यक्षत्रय वामदेव गौतम, भीम रावल, अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्टसहितका नेतालाई कुनै जिम्मेवारी दिइएको छैन । राजधानी दैनिकबाट