काठमाडौं, बैशाख ११ । देशभर दैनिक २ हजार ५ सय जनाको हाराहारीमा कोरोना भाइरस संक्रमित थपिँदै गए पनि हेलचेक्र्याइँ अत्यधिक बढेको पाइएको छ ।यही अवस्थामा संक्रमण थपिँदै गए हाल रहेको स्वास्थ्य संरचनाले धान्न नसक्ने सरकारले प्रस्ट पारिसकेको छ । तर, कोरोना रोकथामको अचुक उपाय मानिएको भौतिक दूरी कायम, मास्क समुचित प्रयोग र सरसफाइलगायत गर्न अधिकांश नागरिकले आनाकानी गर्दै आएका छन् ।
त्यस्तै, नियमनकारी निकाय सरकार र राजनीतिक दलले समेत जनस्वास्थ्य मापदण्ड पालना उल्लंघन गर्दै आएका छन् । अहिले दैनिकजसो शीर्ष दलले भेला, बैठक जारी नै राखेका छन् । देशका मुख्य सहरमा भिडभाड कम हुन सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाए पनि कार्यान्वयन भइरहेको छैन ।
मुख्यतः सार्वजनिक यातायातमा सवार गर्दा भौतिक दूरी कायम हुन सकेको भने मास्क र घरबाहिर निस्किँदासमेत सेनिटाइजर उचित प्रयोग हुन सकेको छैन । सरकारले जनस्वास्थ्य मापदण्ड जारी गरे पनि कार्यान्वयन फितलो देखिएको छ । विभिन्न मेला, जात्रासमेत जारी छन् । विवाह, पार्टी जनस्वास्थ्य मापदण्ड पालनाबिनै भइरहेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना जोखिम अत्यधिक बढेको भन्दै २५ जनाभन्दा बढी भेला नहुन आम नागरिकलाई आग्रह गरेका छन् । ‘भौतिक दूरी कायम नहुने, मास्क समुचित प्रयोग नहुने र सरसफाइमा ध्यान दिइएन भने जोखिम दर बढ्दै जान्छ,’ उनले भने ।
देशभरका स्थानीय प्रशासनले जनस्वास्थ्य मापदण्ड कार्यान्वयन गर्न पत्राचार गरे पनि सो विषय लागू हुन सकेको छैन । सरकारले समेत मापदण्ड उल्लंघन गर्नेलाई कारबाही दायरामा ल्याउन सकेको छैन । संक्रमण जोखिम बढे पनि केही नागरिकमा डरत्रास मान्न छाडेका छन् ।
चिउँडोमा मास्क लगाएर हिँड्ने गरेको समेत पाइएको छ । घरबाहिर निस्किँदा साबुनपानी नभएको बेला हातले केही छोए सेनिटाइजर उचित प्रयोग गर्ने भनिए पनि त्यसो हुन सकेको छैन । अझै सरकारको निर्देशनविपरीत केही विद्यालयले विद्यार्थीलाई भौतिक दूरीसहित पठनपाठन गराइरहेका छन् । राजधानी दैनिकबाट