Logo

तहगत व्यवस्थापन कार्ययोजना ल्याउन सुझाव



काठमाडौं, बैशाख ११ । स्थानीय तहका जनप्रतिनिधिले दैनिक बढ्दै गएको कोरोना रोकथाम र नियन्त्रणका लागि तीनै तहको तहगत व्यवस्थापनको स्पष्ट खाकासहितको कार्ययोजना ल्याउन सङ्घीय सरकारलाई सुझाव दिएका छन् ।

दैनिक बढ्दै गएको कोरोना तीनै तहको तहगत व्यवस्थापनमा मात्र कोरोनाविरुद्ध लड्न सकिने भएकाले सङ्घ, प्रदेश र स्थानीय तहले आआफ्नो जिम्मेवारीसहितको स्पष्ट खाका सङ्घीय सरकारले ल्याउनुपर्ने उनीहरूले औँल्याएका हुन्।

नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले सङ्घीय सरकारले सङ्घ, प्रदेश र स्थानीय तहले आर्थिक तथा भौतिक रूपमा केके गर्ने भन्ने स्पष्ट कार्ययोजना बनाएर कार्यान्वयन गराउन आग्रह गरे ।

“गत वर्ष कोरोना रोकथाम र नियन्त्रणका बारेमा नागरिकमा जनचेतनाको अभाव र शून्य पूर्वाधारको बीचमा स्थानीय तहको सक्रियताले कोरोना रोकथाम र नियन्त्रण भएको थियो,” उनले भने, “अहिले नागरिकमा कोरोनाको जनचेतना जागृत भएको । तीनै तहमा आआफ्नै प्रारम्भिक क्वारेन्टिन र आइसोलेसनको व्यवस्था भएकाले तीनै तहको प्रभावकारी व्यवस्थापन हुने हो भने कोरोना नियन्त्रण गर्न गाह्रो छैन ।”

उनले सङ्घीय सरकारले नीतिगत रूपमा काम गर्ने, प्रदेश सरकारले सम्बन्धित प्रदेशका स्थानीय तह र सङ्घीय सरकारसँग समन्वय गर्ने तथा स्थानीय तहले व्यवस्थापनसहितको कार्यान्वयन तहमा काम गर्ने गरी कार्ययोजना बनाउन सरकारलाई सुझाव र्दिए ।

सङ्घका अध्यक्ष व्याञ्जुले गत वर्ष स्थानीय तहको सक्रियता र प्रभावकारी व्यवस्थापनकै कारण कोरोना रोकथाम भएको तथा अहिले पनि स्थानीय तहले आआफ्नो स्थानमा काम गरेको तर सरकारले तहगत कार्ययोजना सहितको स्पष्ट नीति नबनाएको गुनासो गरे ।

तीनै तहका सरकारका प्रतिनिधि बसेर तहगत रूपमा नबाझिने गरी आर्थिक अधिकारसहितको तहगत जिम्मेवारी बाँडफाँटको कार्ययोजना बनाउन ढिलाइ गर्न नहुने स्थानीय तहका जनप्रतिनिधिको भनाइ छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्