Logo

अक्सिजनको चरम अभाव



जानहाबी मोल (बिबिसी)

काठमाडौं, बैशाख ११ । भारतको राजधानी नयाँ दिल्लीका २५ परिवारले शुक्रबार बिहान उठ्दा सर गंगाराम अस्पतालमा उपचाररत स्वजनको यथेष्ट अक्सिजनको अभावमा मृत्यु भएको खबर पाए। अस्पतालका मेडिकल डाइरेक्टरले २५ जना गम्भीर बिरामीलाई चाहिने अक्सिजन अभाव भएको बताए। दिल्लीका अधिकांश अस्पतालमा अक्सिजन अभाव भइरहेका बेला शुक्रबार उक्त अस्पतालमा दुःखद घटना भएको हो।

उपचाररत थप ६० बिरामीको ज्यान पनि जोखिममा रहेको चेतावनी दिएपछि उक्त अस्पतालमा शुक्रबार बिहान अक्सिजनको ट्यांकर उपलब्ध गराइएको थियो। गंगाराम अस्पतालमा मात्र होइन, कोरोना संक्रमण तीव्र भएपछि भारतका सुगमदेखि दुर्गम स्थानमा पनि अक्सिजन अभाव खट्किएको छ।

भारतका पश्चिमी राज्य गुजरात र महाराष्ट्र, उत्तरी क्षेत्रमा पर्ने हरियाणा, मध्य क्षेत्रमा पर्ने मध्यप्रदेशमा अक्सिजन अभाव देखिएको छ। उत्तर प्रदेशका केही अस्पतालले अक्सिजन समाप्त भएको सूचना टाँसेका छन् भने लखनउका केही अस्पतालले बिरामीलाई अन्यत्र सर्न भनेका छन्। दिल्लीका साना अस्पताल र नर्सिङ होमको हालत पनि त्यस्तै छ। विभिन्न सहरमा बिरामीका नातेदार अक्सिजन रिफिल गर्ने केन्द्रमा लामबद्ध छन्। हैदराबादको एक अक्सिजन प्लान्टमा भीड नियन्त्रण गर्न बाउन्सर परिचालन गर्नुपरेको थियो। अस्पतालमा भर्ना हुन कुरिरहेका कतिपय संक्रमितको मृत्यु भएको छ। अस्पतालले श्वासप्रश्वासमा गम्भीर समस्या भएका बिरामीलाई भर्ना गर्न र जीवित राख्न सकेका छैनन्।

सामाजिक सञ्जाल अक्सिजन सिलिन्डर आवश्यक रहेको व्यग्र अनुरोधले भरिएका छन्। पछिल्लो एक सातादेखि अक्सिजनको पूर्ण अभाव भएको खण्डमा के होला भन्ने विषयले भारत चिन्तित छ। सात महिनाअघि महामारीको पहिलो लहरले चेप्दा पनि अक्सिजनको यस्तै अभाव खट्किएको थियो तर यसपटक अभाव झन् बढी छ। सामान्यतया स्वास्थ्यसेवा केन्द्रले अक्सिजनको कुल खपतको १५ प्रतिशतमात्र उपभोग गर्छन् भने अधिकांश हिस्सा औद्योगिक उपभोगमा खपत हुन्छ। तर महामारीको दोस्रो लहर आएपछि भारतको कुल अक्सिजन आपूर्तिको ९० प्रतिशत अर्थात् ७५ सय मेट्रिक टन अक्सिजन मेडिकल प्रयोजनमा दैनिक रूपमा खपत भइरहेको भारतका स्वास्थ्य अधिकारी बताउँछन्। महामारीको पहिलो लहर अर्थात् गत वर्षको सेप्टेम्बरमा दिनहँु २७ सय मेट्रिक टन अक्सिजन खपत भएको थियो। पछिल्ला दिनमा दिनहँु संक्रमितको संख्या तीव्र रूपले बढेको छ र यो ३ लाखभन्दा अधिक छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्