काठमाडौं, वैशाख ११ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सम्पन्न गरिएको छ ।
प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुन्छ । पहिलो दिन रथलाई असन र दोस्रो दिन हनुमानढोका लगी राखिएको थियो । जात्राको तेस्रो दिन हनुमानढोकाबाट रथ तानी लगनटोल पु¥याइन्छ । जात्राको तेस्रो दिन बिहीबार लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाइएको थियो । चौथो दिन शुक्रबार भव्य जात्रासहित सेतो मच्छेन्द्रनाथलाई जनबहालमा फर्काइएको छ ।
शहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर चौथो दिन अन्त्य गरिन्छ । पाँचौँ दिन आर्यावलोकितेश्वर करुणामयसमेत भनिने सेतो मच्छेन्द्रनाथलाई रथबाट निकालेर मन्दिरमा स्थापित गरिन्छ । यसपछि पाँच दिन लामो जात्रा समापन हुन्छ ।
यस वर्ष कोरोनाको नयाँ भेरियन्टसहितको जोखिम बढ्न थालेकाले स्वास्थ्य सुरक्षाको सावधानी अपनाउन रथभन्दा १५ मिनेट अघि नै सांस्कृतिक बाजाको समूह हिँडाइएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिका सचिव सुजीव बज्राचार्यले बताए । बाजा पहिले नै हिँडाएपछि रथ तान्न भीड नबढ्ने र सुरक्षितरुपमा रथ गन्तव्यमा लग्न सकिने विश्वास गरी सावधानीसाथ चार दिने जात्रा सम्पन्न गरिएको उनको भनाई छ ।
गत वर्ष रथयात्रा हुन नसकेकामा क्षमा पूजा
गत वर्ष कोरोना महामारीबाट बच्न बन्दाबन्दी जारी गरिएपछि सेतो मच्छेन्द्रनाथको रथयात्रा रोकिएको थियो । रथयात्रा रोकिएकामा हालै आर्यावलोकितेश्वर करुणामय भनेर पुजिने सेतो मच्छेन्द्रनाथको क्षमा पूजासमेत गरिएको महानगरपालिका–२५ का अध्यक्षसमेत रहनुभएका समिति संयोजक शाक्यले बताए ।
सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न सकिने गरी सम्पन्न गरेर उपत्यकाका अन्य जात्रा एवं मेलालाई पनि सहजरुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर गर्न सकिन्छ भन्ने देखाउन खोजिएको जनाइएको छ । यसका लागि सरोकार भएका सबै निकायलाई समन्वय गरेर काम गरिएको समिति सचिव बज्राचार्यले सुनाए ।
रथयात्रा चलाउने मार्गमा एक घण्टा अघि नै माइकिङ गरेर सुरक्षितरुपमा जात्रा हेर्न आम मानिसलाई आह्वान गरिएको छ ।