Logo

मुख्यमन्त्री राईको दाबी : ‘बालिका खड्का मैले चिनेको मान्छे होईन, मसँग कहिल्यै सम्वाद भएको मान्छे होईन’ (भिडिओसहित)



काठमाडौं, ११ बैशाख । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो चरित्र हत्या गर्नको लागि र राजनीतिक जीवन सिध्यानको लागि ठूलो गिरोह लागिरहेको आरोप लगाएका छन् । राईले आफू भर्खरे वैवाहिक जीवनमा बाँधिएको र अहिले वैवाहिक जीवन एकदमै राम्रो रहेको दाबीसमेत गरे ।

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘हाम्रो मन, विचार, भावना यी सबै कुराहरु मिलेर नै हामी वैवाहिक जीवनमा बाँधिएका हौं । त्यसो त हाम्रो बीचमा असमझदारीको कुनै अंश नै छैन् । हाम्रो पारिवारिक जीवन एकदमै सुखद् छ ।’ उनले आफूले लभ म्यारिज गर्नुको कारण पनि सुनाए । उनले भने,‘हाम्रो विवाह त लभजस्तो पनि, अनि एरेन्जजस्तो छ । हाम्रो बीचमा लभको प्रस्ताव पनि उसले या मैले कसले राख्यो होला, हाम्रो लभ चाहीँ प्रत्येक बोलीमा, व्यवहारमा, विचारमा, दृष्टिकोणमा, काममा, भावनामा यी कुरामा लभ पर्यो ।’

उनले आफूले बालिका खड्कालाई कहिल्यैपनि नचिनेको दाबी गरे । उनले भने,‘बालिका खड्का मैले चिनेको मान्छे होईन । कहिल्यै पनि सम्वाद गरेको मान्छे होईन । यो कुरा तपाईँ चेक गर्न सक्नुहुन्छ ।’ उनले आफूविरुद्ध एउटा गिरोहले बालिकालाई प्रयोग गरेर चरित्र हत्या गर्न खोजेको पनि दाबी गरे । उनले भने,‘एउटा गिरोहले ती पात्रलाई किनेर लगातार युज गरिरहेको छ । अहिले पछिल्लो समय, सायद एउटा घट्ना मैले सुनें, उनको त्यो प्लान वे मा भयो ।”



प्रतिक्रिया दिनुहोस्