काठमाडौं, ११ बैशाख । नेकपा (एमाले) का माधव नेपाल पक्षधर नेता जगन्नाथ खतिवडाले आफ्नो पार्टीभित्र लोकतन्त्र र विधिको शासन सम्पूर्ण रुपमा समाप्त हुँदै गैरहेको टिप्पणी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्–‘एमाले फुटिसकेको छैन । तर, पार्टीका अध्यक्षले गर्दा एमालेको ठूलो कार्यकर्ताको हिस्सालाई अलग बाटो निर्माण गर्ने दिशातिर धकेल्दैछ ।’ प्रस्तुत छ नेता खतिवडासँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश:
आज लोकतन्त्र दिवस हो, तपाईँको पार्टीमा लोकतन्त्र छ कि छैन ?
मेरो पार्टीभित्र लोकतन्त्र र विधिको शासन सम्पुर्ण रुपमा समाप्त हँुदै गैरहेको दुनियाँले देखिरहेका छन ।
उसो भए, अब एमाले पार्टी फुट्यो त ?
एमाले फुटिसकेको छैन् । तर, पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्दा एमालेको ठूलो कार्यकर्ताको हिस्सालाई अलग बाटो निर्माण गर्ने दिशातिर धकेल्दैछ ।
त्यसोभए तपाईँको पार्टीमा लोकतन्त्र छैन ? तपाईँहरु एमालेमा नै बस्नुहुन्छ कि बाहिरिनुहुन्छ ?
एक हदसम्म हामी यहीँ (एमालेमा) संर्घष गर्नेछौँ । अझै धेरै कार्यकर्ताहरुको बीचमा पुग्नेछौँ । धेरैलाई घच्घच्याउनेछौँ । केपी ओलीको गैर–कम्युनिष्ट र स्वेच्छाचारी प्रवृत्तिको भण्डाफोर गर्दै जानेछौँ । कार्यकर्ताले बुझ्नेछन् । कसरी कार्यकर्ता बुझ्ने छन भने अन्तरविरोध केपी ओलीकै भित्रबाट पैदा हुनेछ । गलत कुरा सधँैभरि ढाकछोप गरेर टिक्दैन । शक्ति पनि समाप्त हुनेछ एकदिन । यसले गर्दा यो अन्तरविरोध उहाँहरुको नबढुञ्जेलसम्म पनि पर्खनुपर्ने होला । अहिले मानिसलाई सबैभन्दा बढि केपी ओली मन परेको होईन । सुर्य चिन्ह अलिकति लोकप्रिय भएर मन परेको हो । त्यसका लागि मान्छे लर्काईरहेका छन । तर, सुर्य चिन्ह जनताले आफँैले बनाएका हुन भन्ने कुरा जब बुझ्नेछन । अर्कोतिर केपी ओली केन्द्रीय कमिटीको बैठक नै राख्न चाहनुहुन्न । यो बैठक राख्नेबित्तिकै आफु दण्डित हुन्छु भन्ने उहाँलाई डर छ । त्यसैले नयाँ÷नयाँ सदस्यहरु थप्दै यसलाई बिथोल्दै जानुभएको छ ।
एमालेमा कारबाही प्रक्रिया सुरू भयो नि, कर्णाली प्रदेशका चार सांसद निश्काषित भएका छन ? अब तपाईँहरु के गर्नुहुन्छ ?
यसैलाई भन्छन सबैभन्दा ठुलो स्वेच्छाचारिता, यसैलाई भन्छन गैर–कम्युनिष्ट तरिका अनि यसैलाई भन्छन तानाशाहीपन । उहाँले समाजमा, राजनीतिमा फाँसीवादको सुरुवात गर्नुभएको छ । उहाँको यस्तै प्रवृत्तिलाई नै फाँसीवादी प्रवृत्ति भनेको हो । यसका विरूद्वमा लडिने छ । आम जनता सबैले जानकारी पाउनुपर्ने कुरा छ । केपी ओलीलाई सच्याउनको निम्ति अधिकतम प्रयास अझपनि गरिनेछ । यदि उहाँ सच्चिनुभएन भने निश्काषन गरेर नै अगाडि बढ्न चाहानुहुन्छ भने नयाँ विकल्प जसले पनि खोज्छ । हामीपनि खोज्छौँ ।
प्रधानमन्त्री ओलीले हिजो विस्तार गरेको स्थायी कमिटीलाई तपाईँहरु मानेर जाने कि नजाने ? के छ योजना ?
यी केपी ओलीले दुई दिनसम्म वरिष्ठ नेता माधव नेपालसँग गरेको जुन संवादको नाटक थियो नि, वार्ताको त्यही गलत काम गर्नका निम्ति उहाँले वार्ताको नाटक रचेर ओहो केपी ओलीले त माधबकुमार नेपालसंग वार्ता गरेको थियो नि भनेर प्रचार गर्नका निम्ति ठाउँ बनाउनुभएको थियो । उहाँले माधव कमरेडसँग सक्कली वार्ता गर्नुभएको थिएन भन्ने बुझ्नुभयो । अर्को के हो भने यो स्वीकार गर्न योग्य पनि छैन । यो खारेज गर्न योग्य छ । हाम्रो तर्फबाट यसमा कुनै शंका छैन । केपी ओलीको यो प्रवृत्तिलाई किमार्थ मानिँदैन । दोस्रो कुरा, कहिलेसम्म नमानेर नै संगै बसिन्छ भन्ने कुरा अन्तरविरोध हो । अन्तरसंघर्ष हो । यो अन्तरसंघर्ष एउटा विन्दुसम्म पुगेपछि यसको सिमा समाप्त हुन्छ । दुई दिन, चार दिन, दश दिन, महिना दिन एउटा विन्दुमा यो समाप्त हुन्छ । त्यसपछि ती केपी ओली गलेर आउँछन । कि त हामीले केपी आलीको साथ छोड्नुपर्छ ।
तपाईँहरु केपी ओलीको साथ कहिले छोड्नुहुन्छ ? अहिले खुलासा गर्नुहोस न ?
यसको कुनै तिथिमिति हुँदैन् । यो राजनीतिक प्रक्रिया हो । पाँच दिन, दश दिन, बीस दिन जतिपनि हुनसक्छ । साथ छोड्नका निम्ति यो अन्तरसंघर्ष गरिएको होईन । यो अन्तरसंघर्ष साथसाथै हिँड्नका निम्ति गरिएको हो । उहाँले यति धेरै अपमानित गर्दा र यति धेरै कार्यकर्ताहरुलाई अपमान गर्दा पनि संगै बसिरहनुपर्ने थिएन होला । त्यसकारण यो साथ छोड्नको लागि गरेको प्रयास होईन । साथसाथै हिँडन र केपीलाई सच्याउनका लागि गरेको प्रयास हो । सचिनुहुन्न भन्ने अन्तिम विन्दुमा पुगिसकेपछि, अनिमात्रै निर्णय लिने हो ।
तपाईँहरुलाई अझैपनि केपी ओली सच्चिनुहुन्छ भनेर विश्वास छ त ? उहाँले प्रष्ट शब्दामा अब माधव नेपालले माफी मागेर पार्टीमा फर्किनुपर्छ भन्नुभएको छ नि ? यहाँको प्रतिक्रिया के छ ?
उहाँको त विश्वास धेरै छैन । तर, केपी ओलीलाई विश्वास गर्दै बस्नुभएका, र आज मुख बन्द गर्नुभएका, डराएर बस्नुभएका र केपी ओलीको अगाडि शीर झुकाएर बस्नुभएका र मनभित्र केपी ओलीले गल्ती गरिरहेका छन भन्ने बुझिरहनुभएका, जब आवाज अर्थात् वाणी खुल्न थाल्छन्, जब हिम्मत बढ्नेछ त्यसपछि केपी ओली आँफै सक्किनु हुनेछ भन्ने मलाई लाग्छ ।
प्रदिप ज्ञवालीले भन्नुभएको छ–तपाईँहरुले आत्माआलोचना गरेर मूलधारमा फर्किने हो भने हामी ठाउँ दिन्छौं भनेर । तपाईँहरु कहिले आत्मालोचना गरेर पार्टीमा फर्किनुहुन्छ ?
जसले केपी आलीको कठपुतलीको रुपमा यस्तो कुरा सोच्छ । उसले यस्तो भन्ने नै भए नि ।
त्यसो भए तपाईँहरुले गल्ती सच्याउनुहुन्न ?
गल्ती गरेको भए पो स्विकार गर्ने ? गल्ती तिमीले यति ग¥यौ र मैले यति गरेँ भनेर कुनै दिन समिक्षा बैठक बस्नुहुन्छ भने त्यो समिक्षा बैठक भनेकै नेकपा एमालेको २०७५ जेठ २ गतेसम्म रहेको केन्द्रीय कमिटीको बैठकमात्रै हुनेछ । त्यो आयोजना गर्नुहोस त्यही बैठकबाट छलफल गर्नुहोस, समिति/उपसमिति के बनाउनुपर्छ त्यो पनि बनाउनुहोस् । ०७५ जेठ २ सर्वोच्च अदालतले व्यँुताईदिएको कमिटीको बैठक जबसम्म उहाँले बोलाउनुहुन्न नबोलाएसम्म एकताको सम्भावना क्षिण हुँदैजान्छ । जुनदिन बैठक बोलाउनुहुन्छ एक सेकेन्डमा समस्याको समाधान हुन्छ । पार्टी एक ढिक्का भएर जान्छ । तपाईँ सबै मिडियाकर्मीहरुलाई भन्न चाहान्छु । केपी ओलीलाई नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बोलाउन भन्नुहोस् । उहाँका कठपुतलीहरुको बैठक नबोलाउन भन्नुहोस् । एमालेको बैठक भनेको २०७५ जेठ २ सम्म रहेको नवौँ महाधिवेशनबाट निर्वाचित कमिटी हो । त्यो निर्वाचित कमिटीको बैठक बोलाउन सबैले अनुरोध गर्नुहोस् । दबाव दिनुहोस् अनिमात्रै पार्टीको एकता जिवित रहनेछ ।
केपी ओलीले मान्नुभएन नि ? उहाँले त दुई दिनसम्म लगातार भेटवार्ता गर्नुभएको होईन भन्या ?
उहाँको भेटवार्ता नक्कली थियो । उहाँको भेटवार्ता सहमति गर्नका निम्ति भन्दापनि देखाउनका निम्ति थियो । उहाँको भेटवार्ता एउटा कुरा देखाएर अर्को काम गर्नका निम्ति थियो भन्ने उहाँको हिजोको निर्णयले प्रष्ट भईसकेको छ ।
हामीले आज लोकतन्त्र मनाईरहँदाखेरी हामी कहाँ–कहाँ चुक्यौँ ?
हामी कहाँ दुई/तीन प्रकारका चुनौती छन । सबैभन्दा पहिले राजनीतिक दल र यिनीहरूका नेताहरुले लोकतान्त्रिक संस्कृतिको अवलम्वन गर्न नसक्नु सबैभन्दा ठुलो चूनौती हो । दोस्रो चुनौती भनेको नेपालको लोकतन्त्रमा नेपाली जनताले खेल खेल्नुपर्ने हो । नेपाली जनताभन्दा बाहिरका मानिसहरुले, बाह्य शक्ति राष्ट्रहरुले बढि खेल खेलिरहेको देखिन्छ । आजपनि यो अस्थिरता आउनको निम्ति बाहिरका शक्ति राष्ट्रहरुले खेलेको प्रष्ट देख्न सकिन्छ । ती बाहिरका शक्तिहरुलाई नेपालभित्र प्रवेश गराउनका निम्ति विभिन्न खालका राजनेताहरु क्रियाशिल छन । यो अर्को दुर्भाग्यपूर्ण परिस्थिति हो । र, समग्रतामा नेपालको विकास र समृद्धिको लागि नेपालका राजनीति दल र नेताहरु नेपालको राष्ट्रिय स्वाभिमानका लागि नेपालको राष्ट्रिय सहमति यो कुरा कम हुनु नै आजको हाम्रो कमजोरी र चूनौति हो ।