वैशाख ११, ललितपुर । नेपाल पत्रकार महासंघ, ललितपुरले अद्यावधिक कार्ययोजना बनाएर काम गर्ने भएको छ । शनिबार पदबहाली गरेपछी बसेको पहिलो बैठकले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाइ काम गर्ने निर्णय गरेको अध्यक्ष सागर न्यौपानेले जानकारी दिए ।
त्यसका लागि विज्ञ टोलि, महासंघका सल्लाहकार, तीन वटै निर्वाचन क्षेत्रका सांसद र जिल्लाका ६ वटै स्थानीय तहसंग सुझाव र सल्लाह लिएर कार्ययोजना बनाइने अध्यक्ष न्यौपानेले बताए । ’ललितपुर पत्रकार महासंघ शाखाले अद्यावधिक कार्ययोजना बनाएर काम गर्ने निर्णय गरेको छ,’ विज्ञ, जनप्रतिनिधि, सांसद र अनुभवी पत्रकारको सहयोग लिएर अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्माण गरि सोहि आधारमा काम गरिनेछ,’न्यौपानेले भने ।
महासंघले जिल्लामा रहेका महिला पत्रकार र संचार माध्यममा महिलाको स्थिती समेत अध्ययन गर्ने निर्णय गरेको छ । यस्तै कोरोनाको कारण जिल्लाका संचारगृहमा कार्यरत पत्रकारले भोगेका समस्या, र मिडियाको अवस्थाबारेको अध्ययन गरेर प्रतिवेदन बनाउने भएको छ । सचिव रामहरी कार्कीको संयोजकत्वमा ५ सदस्यीय उपसमिति बनाएको हो । सो प्रतिवेदनलाई पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल र सुचना विभागमा अध्ययन गर्न पठाइने न्यौपानेको भनाइ छ ।
यस्तै पत्रकार महासंघ ललितपुरले जिल्लामा रहेका सबै सदस्यको डिजिटल प्रोफाइल बनाउने भएको छ । जिल्लामा ४ सय ५४ सदस्य रहेका छन । सदस्य कार्यरत मिडियासहितको डिजिटल प्रोफाइल बनाउन लागिएको हो ।
पद हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेलले राज्यसँग सम्झौता विहिन संघर्ष गर्ने बताए । अहिले ल्याइएका कतिपय विधेयक नेपालको संविधान विरुद्धमा रहेको भन्दै त्यसका विरुद्ध संघर्ष गरिने बताए ।
कोरोनाको कारण देखाउदै मिडियामा कार्यरत पत्रकार निकाल्ने काम भए महासंघ चुप नबस्ने उनको भनाइ छ । महासंघलाई एकेडेमीक रुपमा अगाडि बढाइने पोखरेलले बताए ।
ललितपुर पत्रकार महासंघले जिल्लाबाट ४ दशकभन्दा बढी समयदेखि सक्रिय पत्रकारिता गरेका प्रभुनारायण बस्नेत, डाक्टर अष्टमान किसी महर्जन, बटुकृष्ण कार्की, राधा बुढाथोकी ,माधव नेपाललाई सम्मान गरेको छ ।