Logo

धरहरा उद्घाटनको खुशियालीमा प्रधानमन्त्रीद्धारा बालुवाटारमा रात्रिभोजको आयोजना



काठमाडौं, ११ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नवनिर्मित धरहराको उद्घाटन गरेका छन् । उक्त खुशियालीमा प्रधानमन्त्री ओलीले आज राति बालुवाटारमा रात्रिभोजको आयोजना गरेको स्रोतले जनाएको छ । उक्त भोजमा धरहरा बनाउनको लागि संलग्न विभिन्न सरकारी तथा निजी निकायका प्रतिनिधिसहरु सहभागी हुने जनाईएको छ ।

कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेको छ। दिन दुई गुण रात चौगुणको दरले संक्रमण फैलिएको र अवस्था भयावह हुनसक्ने चिकित्सकहरुले बताईरहेका छन् । तर, सरकारले भने यसको रोकथाम र नियन्त्रणको लागि प्रभावकारी कदम चाल्न सकेको छैन् । आँफैले जारी गरेको स्वास्थ्य प्रोटोकल सरकार आँफैले लत्याएको छ । कुनै पनि सभा सम्मेलन, भीडभाड नगर्न सरकारले निर्देशन दिएको छ ।

तर, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै एमाले दशौं महाधिवेशन आयोजक कमिटीको बैठक दुई पटक बसिसकेको छ । सयौंको संख्यामा त्यहीँ भेला तथा सम्मेलन हुने गरेको छ । आज त धरहराको उद्घाटन कार्यक्रममा ठूलो भीडभाड देखिएको थियो । सरकारले कोरोना संक्रमण फैलिएको बेलामा पनि बेवास्ता र आँफै लापरवाही गरिरहेको भनेर जनस्वास्थ्यविद्हरुले सामाजिक सञ्जालमार्फत आलोचना गरेका छन् । अहिले अक्सिजन सिलिण्डर र भेन्टिलेटरको व्यवस्था गर्नुपर्ने बेलामा सरकारमा त्यस्तो गम्भिरता नदेखिएको उनीहरुको गुनासो छ । कोरोना अहिले समूदायस्तरमा फैलिसकेको बताईएको छ ।

ठडियो धरहरा, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन (फोटोफिचर)

एक कार्यक्रमका बीच आज धरहराको उद्घाटन गरिएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालीको भावना र गौरव, अतीत र इतिहास जोडिएको धरहरा निर्माण सम्पन्न हुँदा खुशी अनुभव भएको बताएका थिए । छ वर्षअघिको भूकम्पले भत्किएको धरहरा नजिकै बाहिरी आवरण उस्तै देखिने धरहरा निर्माणपछि आज आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले इतिहाससँग जोडिएको ऐतिहासिकस्थल पुनःनिर्माण हुनु देशकै लागि गौरवको विषय भएको बताएका थिए ।

‘धरहरा अब कहिल्यै ढल्दैन, काठमाडौंवासीले घर-घरमा दिपावली गरौं’ : प्रधानमन्त्री ओली

“इतिहास झल्कने, आधुनिकता टल्कने गरी धरहरा पुनःनिर्माण भएको छ, सुन्दर, आकर्षक र मजबुत धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो, आइफल टावरमा जस्तै हावा धरहराको २०औँ तलामा आएको छ, यो काठमाडौँ र नेपालको परिचयका रुपमा विश्वमा चिनिने छ, मैले २०७२ फागुन ४ गते म बनाउँछु, मेरो धरहरा अभियान चलाएको थिएँ, त्यसअनुरुप यो निर्माण हुन नसके पनि बन्दा सबैलाई खुशी लागेको छ”, उनले भनेका थिए ।

उद्घाटन समारोहलाई आयोजक राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्राधिकरणका सचिव मणिराम गेलालले सम्बोधन गरेका थिए । विसं २०७५ पुस १२ गते शिलान्यास भएको धरहरालगायत संरचना जिआइटिसी÷रमण जेभी कन्स्ट्रक्सनले निर्माणको काम गरिरहेको जानकारी सो अवसरमा गराइएको थियो । FILE PHOTO/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot