काठमाडौं, बैशाख १२ । ८ हजार ९७९ जना मानिसको ज्यान जाने गरी २०७२ वैशाख १२ मा गएको भूकम्पको आज (आइतवार) ६ वर्ष पुगेको छ । निजी आवाससहित ऐतिहासिक सम्पदा, विद्यालय, सार्वजनिक भवन, स्वास्थ्य संस्थासहित अन्य पुनर्निर्माणका कामहरू सम्पन्न गर्न हालसम्म ३ खर्ब ५७ अर्ब खर्च भइसकेको छ ।
भूकम्पबाट अतिप्रभावित १४ सहित ३२ जिल्लाहरूमा यो अवधिमा झन्डै ६ लाख निजी आवासहरू बनेका छन् । मुलुकका ऐतिहासिक सम्पदाहरू पनि निर्माण भएका छन् । भूकम्पबाट पूर्णरूपमा क्षति भएका धरहरा र रानीपोखरीका साथै दरबार हाइस्कूल, सिंहदरबार पनि निर्माण तथा पुनर्निर्माण भइसकेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार क्षति भएका विभिन्न ९२० सम्पदामध्ये हालसम्म ४९३ को निर्माण सम्पन्न भएको छ ।
भूकम्पबाट करीब १० लाख निजी आवासमा क्षति पुगेको थियो । ती घर निर्माणका लागि ८ लाख १० हजार ४२७ लाभग्राहीले पुनर्निर्माणका लागि अनुदान सम्झौता गरेका छन् । सरकारले निजी आवास निर्माणका लागि भूकम्पबाट प्रभावित लाभग्राहीहरूलाई रू। ३ लाख तीन किस्तामा दिँदै आएको छ ।
सरकारले पुनर्निर्माणका लागि लगानी जुटाउन सोही वर्षको असार १० गते अन्तरराष्ट्रिय दातृ सम्मेलन गरेको थियो । त्यसबेला गरिएको पोस्ट डिजास्टर निडस् एसेस्टमेन्ट ९पीडीएनए० प्रतिवेदनले पुनर्निर्माणमा रू। ९ खर्ब ३८ अर्ब बराबर लगानी आवश्यक पर्ने आकलन गरेको थियो । तर, प्राधिकरणले पाँचवर्षे रणनीति तथा कार्यक्रम परिर्माजन गर्दा उक्त लगानी घटेर रू। ४ खर्ब ८८ अर्बमा झरेको थियो । प्राधिकरणका अनुसार दातृसम्मेलनमा रू। ४ खर्ब १० अर्बको सहयोग प्रतिबद्धता भए पनि रू। २ खर्ब ९४ अर्बमात्रै प्राप्त भएको छ ।
भूकम्पबाट पूर्ण तथा आंशिक रूपमा क्षति भएका निजी आवासहरूलाई नै प्रमुख प्राथमिकता दिएर शुरू गरिएको पुनर्निर्माणको काम सम्पन्न हुन थालेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए ।
नेपाल भूकम्पीय जोखिममा रहेकै कारण विपद् जोखिमबाट सुरक्षित नेपाल निर्माणको दशवर्षे महाअभियानका लागि कार्यक्रम तयार गरिरहेको उनको भनाइ छ । पाँचवर्षे कार्यअवधि पाएर स्थापित भएको प्राधिकरणको म्याद गत पुसमा सकिए पनि १ वर्ष म्याद थपिएको छ । आर्थिक अभियान दैनिकबाट