Logo

त्रिशूलीमा खसेका थप एक मजदूरको मृत्यु



त्रिशुली, १२ बैशाख । भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्ने क्रममा त्रिशूलीमा खसेका मजदूरमध्ये एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । सोही क्रममा दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा भारतको बेतिया जिल्ला घर भएका ४३ वर्षीय विजय यादव रहेका छन् । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जना सामान्य र छ जना मध्मम रहेका छन् । उनीहरुको पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बेपत्ता हुनेमा भारतको विहार घर भएका श्याम बाबु पाठक र सुनिल माझी रहेका छन् । उनीहरुको खोजीकार्य भइरहेकोे छ ।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार आज बिहान पुलमा फलामको काम गर्दै गर्दा फलामसहित मजदूर खसेका थिए । दुई जना त्रिशूलीमा बेपत्ता भएको र फलामले च्यापिएकाको उद्वार गरिएको उनले जानकारी दिए ।

निर्माणाधीन सो पुलको केही भाग गत चैत्र २४ गते भाँचिएर नदिमा खसेको थियो । सो स्थानमा १४ जना मजदूरले काम गरिरहेका थिए । भरतपुर महानगरपालिका–१, ठिमुरा र देवघाट गाउँपालिका–५, घिनाटार जोड्ने ८।५ मिटर चौँडाइ भएको २२० मिटर लामो पुल निर्माण भइरहेको थियो ।रासस



प्रतिक्रिया दिनुहोस्