Logo

‘जसरी हुन्छ जनतालाई बचाऔँ’



काठमाडौँ, १२ वैशाख । प्रतिनिधिसभा सदस्यले जनताको जीवन रक्षा पहिलो प्राथमिकता भएकाले कोभिड–१९ नियन्त्रणका सबै संयन्त्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले विगतबाट पाठ सिकेर कमजोरी हटाउँदै स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गरी नागरिकको जीवनरक्षामा लाग्न संसदीय समितिमार्फत आह्वान गरेका हुन् । “कानून निर्माता हामीले जनतालाई बचाउन के गर्ने हो, त्यो हेरौँ, अब हाम्रो एउटै उद्देश्य हुनुपर्छ, कसरी हुन्छ जनतालाई बचाऔँ भन्ने, त्यसमा सांसदको भूमिका के हुने, संसदीय समितिले कसरी योगदान दिने”, नेकपा (एमाले)का सदस्य नवराज सिलवालले भने, “त्यसतर्फ समितिको ध्यान जाओस् ।”

तराई प्रभावित भइरहेको सन्दर्भ जोड्दै सिलवालले आजको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा निकट भविष्यमा काठमाडौँ उपत्यका प्रभावित हुने अवस्था देखिएको तर्फ राज्यको ध्यानाकर्षण गराए । हुन त समितिको यही वैशाख ९ गतेको बैठकले १६ बुँदे निर्देशन जारी गर्दै कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि भरपर्दो उपाय अवलम्बन गर्न राज्यलाई निर्देशन दिएको थियो । सांसदले कोरोना नियन्त्रणमा लाग्ने संयन्त्रलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा जोड दिए ।

एमालेकै लालबाबु पण्डितले भारतको अवस्था दयनीय रहेकाले अब नेपालमा पनि त्यो स्थिति आउनसक्ने भनी चिन्ता प्रकट गरे । “निषेधात्मक आदेश जारी गर्नुपर्ने पनि हुन सक्छ, विशेष ध्यान दिनुपर्छ”, उनले भने । सोही दलका खेमप्रसाद लोहनी र लक्ष्मी चौधरीले आवश्यकतानुसार अनुगमन गरेर सङ्क्रमण रोकथाममा सबै संयन्त्र लाग्नुपर्नेमा जोड दिए।

यतिबेला नागरिक बचाउनु नै ठूलो कुरा भएको जनाउँदै नेपाली कांग्रेसका मोहनप्रसाद पाण्डेले भने, “अस्पताल पर्याप्त बनाउनुप¥यो, औषधि पर्याप्त राख्नुप¥यो, जिल्लाका सबै निकायलाई प्रभावकारी परिचालन गर्नुपर्छ, आफूले गर्नुपर्ने कामबाट राज्य बाहिर गएको छ, यसमा समितिको आवश्यक निर्देशन जरुरी छ ।” कांग्रेसकै देवेन्द्रराज कँडेलले कोभिडमा राज्य संयन्त्रले कसरी काम गरिरहेको छ भन्नेमा संसदीय समितिको ध्यान त्यसतर्फ जानुपर्नेमा जोड दिए। “वीर अस्पतालमा भएको अक्सिजन प्लान्ट चल्न सकिरहेको छैन, अनुदानमा बाहिरबाट आयात गर्ने कुरा हुँदैछ, आफ्नो भइरहेकालाई चलाउन नसक्ने, अनि बाहिरबाट ल्याएर सम्भव छ रु”, उनले प्रश्न गर्दै भने । अब जनतालाई कसरी सुरक्षित पार्न सकिन्छ भन्नेतर्फ समितिले ध्यान दिनुपर्नेमा उनको जोड थियो । रासस



प्रतिक्रिया दिनुहोस्