वैशाख १२, काठमाण्डौ । संसदीय समितिले कोरोनाका कारण प्रभावित हुन सक्ने र जिवनसंग प्रत्यक्ष सरोकार राख्ने बिषयको अनुगमन गर्ने भएको छ । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति बैठकले कोरोनालाई बाहाना बनाउदै बजारमा कालाबजारी हुन सक्ने, जनताको सेवा प्रवाहमा कमी हुने सक्ने भन्दै जिवनसंग प्रत्यक्ष सरोकार राख्ने बिषयको अनुगमन गर्ने निर्णय गरिएको समिति सभापति शशि श्रेष्ठले जानकारी दिइन् ।
अहिलेलाई उपत्यका र परिस्थीति हेरेर उपत्यका बाहिर पनि अनुगमनमा जाने उनले बताइन् । कोरोना महामारीमा पनि सुशासनको अवस्थालाइ कमि हुन नदिने उदेश्यका साथ अनुगमन गर्न लागिएको सभापति श्रेष्ठले बताइन् । उनले कोरोना महामारीमा सर्वसाधारणले पाइरहेको स्वास्थ्य सेवाका बारेमा पनि अनुगमनका क्रममा जानकारी लिइने बताइन् ।
बैठकमा समिति सदस्यहरुले कोरोना संक्रमण बढ्दै जादा पनि सरकारले पूर्वतयारीमा ढिलाइ गरिरहेको आरोप लगाएका थिए । सांसद देवेन्द्रराज कँडेलले वीर अस्पतालमा कमिसनको खेलमा अक्सीजन प्लान्ट बिगारीएको आरोप लगाए । त्यस्तै अन्य अस्पतालमा पनि अक्सिजन प्लान्ट बनाउन नखोजिएको उहाको भनाई छ ।
त्यस्तै सांसद नवराज सिलवालले तराईमा महामारी बढ्दै जादा पनि नागरिकहरु सहयोगबिहीन बन्न पुगेको बताए । कोरोनाबाट जनतालाई जोगाउन आवश्यक पूर्वाधारमा जोड दिनुपर्ने उनको भनाई छ ।
बैठकले लोकसेवा आयोग, निर्वाचन आयोग र अख्तियारसम्बन्धी प्रतिवेदन एक हप्ताभित्र अध्ययन गरेर आवश्यक सुझाव दिन समिति सदस्यहरुलाई निर्देशन दिएको छ ।